झुलाघाट नाकाबाट आयात मात्रै,निर्यात शून्य

बैतडीस्थित नेपाल–भारत सीमानाका महाकाली भन्सार कार्यालय झुलाघाटबाट गत आर्थिक वर्षमा ५५ करोड रुपैया बराबरको सामग्री आयात भएको भए पनि निर्यात भने शून्य रहेको छ।

भन्सार कार्यालयबाट भारततर्फ केही पनि निकासी नभएको महाकाली भन्सार कार्यालयले जनाएको छ।

उत्पादनको कमी हुनु, व्यावसायिक उत्पादन नहुनु र मोटरेबल पुल नभएका कारणले निर्यात हुन नसकेको महाकाली भन्सार कार्यालयका प्रमुख रामराजप्रसाद चौरसियाले जानकारी दिए।

कृषिजन्य उत्पादनमा कमी आउनु, कृषि क्षेत्रलाई राज्यले उपेक्षा गरेका कारण निर्यात हुने खालका सामग्री नै उत्पादन हुननसकेको उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष खीमानन्द भट्टले जानकारी दिए।

रिठा, भटमास र घ्यू निर्यात हुने भए पनि पछिल्लो समयमा यो पनि रोकिएको छ।

लक्ष्यअनुसार राजश्व सङ्कलन भएन

पछिल्ला वर्षमा भन्सारले लक्ष्यअनुसारको राजश्व सङ्कलन गर्न सकिरहेको छैन। भारतसँग सीमा जोडिएको नाका झुलाघाटमा रहेको भन्सार कार्यालयले तोकेको लक्ष्यअनुसार गत आर्थिक वर्षमा पनि राजश्व सङ्कलन गर्न सकेको छैन। गत आवमा रु एक करोड नौ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार कार्यालयले रु ८९ लाख ७७ हजार मात्रै राजश्व सङ्कलन गरेको छ।

अघिल्लो आव २०७४÷७५ मा रु एक करोड १९ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ७१ लाख ७७ हजार मात्रै राजश्व सङ्कलन गर्न सफल भएको थियो । तर आव २०७३÷७४ मा रु एक करोड ४४ लाख र आव २०७२÷७३ मा रु एक करोड ४० लाख राजश्व सङ्कलन भएको थियो।

मोटरेबल पुल निर्माणका लागि अनशनको तयारी

भारतसँग सीमा जोडिएको झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि दबाब दिन रिले अनशन बस्ने तयारी गरिएको छ। झुलाघाट मोटरेबल पुल निर्माण सङ्घर्ष समितिको गोठलापानीमा बसेको बैठकले यही भदौ २२ गतेदेखि अनिश्चितकालीन रिले अनशन बस्ने निर्णय गरेको सङ्घर्ष समितिका संयोजक नरबहादुर चन्दले जानकारी दिए।

झुलाघाट नाकामा पक्की पुल नहुँदा सुदूरपश्चिमका पहाडी जिल्लाको अर्थतन्त्रमा व्यापक असर परेकाले पुल निर्माणका लागि सरकारलाई दबाब दिन रिले अनशन बस्ने निर्णय भएको हो। भदौ २२ गतेदेखि बिहान १०ः०० बजेबाट शुरु भएको अनशन प्रत्येक दिन साँझ ५ः०० बजेसम्म चल्नेछ । अनशनमा उद्योग वाणिज्य सङ्घलगायतका सङ्घसंस्था र सङ्घर्ष समितिको सहभागिता रहनेछ । रासस

प्रकाशित मिति: : 2019-09-04 07:13:45

प्रतिकृया दिनुहोस्