‘गर्मीमा कोक, फेन्टा होइन स्याउको जुस खाउः मन्त्री बिमला केसी

तस्बिरः महेश नेपाली

बिहान ११ बजे भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसी जुम्ला पुगिन्। लगत्तै तयारी अवस्थामा रहेको बाजा टोलीले परम्परागत दमाह बजायो। ९ बजेदेखि स्याउ प्रदर्शन गरिरहेका किसानहरुले मन्त्रीतिर नजर डुलाए।

मन्त्री प्रफुल्ल हुँदै मञ्चमा उक्लिइन्। किसानहरू त्यो भन्दा बढी प्रफुल्लित भए। मन्त्रीको पालो आउन्जेल उनीहरू के बोल्छिन् भनेर कुरी बसे।

मन्त्री केसी कान्जिरोवा टाईम्सले आयोजना गरेको दोस्रो एप्पल फेष्टिबलमा सहभागीता जनाउन शनिबार जुम्ला पुगेकी हुन। उनले औपचारिक रुपमा उद्घाटन गरेपछि कार्यक्रम सुरु भयो।

अतिथिले बोल्ने क्रम सुरू भयो। उनीहरुले स्याउ किसानका समस्या केलाए। उत्पादनमा बोहोर्नुपरेका चुनौती, बजार भाउ राम्रो नभएको, यातायातको राम्रो व्यावस्था नहुँदा खेप्नुपरेको सास्ती, प्रचारप्रसारको अभाव, किसानका नाममा विचौलियाले उठाएको लाभ लगायतका विषयमा बोले।

स्याउ उत्पादन र यसको विस्तार, अर्थतन्त्रमा पुग्ने टेवाको लागायत महत्त्वपूर्ण विषय उठान गरे। बीचबीचमा सांस्कृतिक झाँकिहरु प्रस्तुत गरियो। यी सबै किसानलाई खास तानेन।

जब मन्त्रीको पाले आयो एकाएक किसानहरुको ध्यान केन्द्रित भयो।

मन्त्रीले सुरूवातमै जुम्ली स्याउको प्रचार विश्वभर भएको बताइन्। ‘अब कर्णालीले कोक, फेन्टा, बियरलाई विस्थापन गर्न स्याउको जुस, वाईनमा बनाएर आत्मनिर्भर हुनुपर्छ’, मन्त्री केसीले भनिन्, ‘अब गर्मी हुँदा कोक, फेन्टा र फुट्री होईन घरघरमा एप्पल जुस बनाएर खाने हो।’ किसानहरूले पररर.... ताली बजाए।

मन्त्री केसीले यी सबैका लागि योजना पेश गरिन्,‘लक्ष्य लिनु पहिले कर्णालीमा पुर्वाधारको खाँचो छ। स्याउको जुस उत्पादनका लागि प्रशोधन उद्योग आवश्यक छ। जसको सुरुवात जुम्लाबाट हुनेछ। त्यसका लागि  १ करोड ५० लाख बजेट छुटाएका छौं’, उनले भनिन्।

कर्णाली प्रदेशका सांसद दिनबन्धु श्रेष्ठले कृषि क्षेत्रको अनुदान वास्तविक किसानले नपाएको, उनीहरुले पाउने सहुलियत बीचौलीयाले दुरूपयोग गरिरहेको बताए।

‘कर्णालीको गरिबी अन्त्य कृषिबाटै सम्भव छ। त्यसका लागि स्याउ, सिमि, आलु, ओखरलाई प्रशोधन गरी साना तथा मझौला उद्योग स्थापना गरी रोजगारीलाई समेत बढवा दिने विषयमा सरकारले सोच्नुपर्छ’, उनले भने।

महोत्सवमा किसानले उत्पादन गरेका रेड डेलिसियस र रोयल डेलिसियस गरि दुई जातका स्याउ प्रतिस्पर्धा गराइएको थियो। रेड डेलिसियसमा प्रथम, दोस्रो र तेस्रो क्रमश गोरख बहादुर सुनार, भैरव बहादुर धराला र हरि प्रसाद देवकोटा भए भने रोयल डेलिसियसमा क्रमश रत्न बहादुर बम, राजु मल्ल र पुष्पा खत्री भए।

मन्त्री केसीले सहभागी सबै किसानलाई बधाई दिईन्। ‘तपाईँहरूको मेहनतले नै यो जिल्ला विश्वमा परिचित छ’, उनले किसानलाई फेरि एक पल्ट खुसी बनाईन्।

यसैबीच किसानहरुले आफूहरू सरकारी कारणले कहिल्यै दुःखी बन्न नपरोस भन्ने कामना गरेका छन्।

प्रकाशित मिति: : 2019-08-31 20:32:36

प्रतिकृया दिनुहोस्