अमेरिका रहेका नेपालीको झर्यो 'नम्बर १' रेमिट्यान्स फूर्ती !

वेस्टर्न युनियनको कमाल : रेमिट्यान्समा अमेरिका नम्बर वन । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स

नेपालमा रेमिट्यान्ट पठाउने मुलुकमा अमेरिका सबैभन्दा माथि रहेको तथ्यांक मिथ्यांक भएको पुष्टी भएको छ । 

संसारका विभिन्न मुलुकबाट वेस्टर्न युनियनमार्फत् पठाइने रकम अमेरिका हुदै जाने भएकाले नेपालमा रेमिट्यान्स पठाउने मुलुकमा अमेरिका नम्बर १ देखिएको नेपाल राष्ट्र वैंककै एक उच्च अधिकारीले बताएर यसको रहस्योद्भाटन गरिदिएका हुन् । 

नेपाल राष्ट्र बैंकका अनुसार गएको आर्थिक वर्षमा अमेरिकाबाट एक अर्ब ६४ करोड डलर रेमिट्यान्स भित्रिएको छ । तर, यो सबै रकम अमेरिकाबाट मात्र पठाइएको भने हैन ।

नेपाल राष्ट्र बैंककै प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले त्यसको पुष्टि गरेका छन् । उनले भनेका छन्- वेष्टर्न युनियन मनी ट्रान्सफरबाट पठाइने रेमिट्यान्स उसको अमेरिकी बैंकमा भएको खातामार्फत आउने भएकाले अमेरिकाबाट आउने रेमिट्यान्स उच्च देखिएको हो ।

विगत केही समययता नेपाल राष्ट्र बैंकले अमेरिकाबाट नेपालमा सबैभन्दा बढी रेमिट्यान्स आइरहेको तथ्यांक सार्वजनिक गरेपछि अमेरिकामा रहेका नेपालीहरूको नाक ठूलो भएको थियो । कतिपय अगुवा एनआरएनहरूले भाषण पनि गर्ने गरेका थिए- हामी नेपालमा रेमिट्यान्स पठाउने एक नम्बर हौं । हाम्रो डलर खाने अनि हामीलाई दोहोरो नागरिकता नदिने भनेर कुर्लिने पनि गरेका थिए । 

तर, नेपाल राष्ट्र बैंकले एृना देखाइदिएपछि अहिले उनीहरूको घिरौला जत्रो नाक ठीक साइजमा आउने परिस्थिति सिर्जना भएको छ । 

वास्तवमा अमेरिका आएका धेरै नेपाली जे गरेर भए पनि अमेरिकाबाट नफर्कने सोचाइ बोकेर आएका हुन्छन् । सुरूका केही वर्ष अपवादलाई छोडेर उनीहरू कसरी अमेरिकामा बस्ने कागजी जोहो गर्ने भनेर त्यसैको धन्दामा धेरै रकम र समय बर्वाद गरिरहेका हुन्छन् । 

कागज बनाउने समयसम्म उनीहरूले अमेरिकामा पैसा जोगाउने त हैन, नेपालमा भएको पैसा ल्याएर पनि खानुपर्ने अवस्था हुन्छ । जब कागज बन्छ, उनीहरू अमेरिकामै बस्न चाहन्छन्, त्यस्तो अवस्थामा अमेरिकाबाट पैसा पठाउने हैन कि नेपालको घरबार बेचेर पैसा ओसार्न थाल्छन् ।

यस्तो अवस्थामा अमेरिकाबाट कसरी त्यत्रो रेमिट्यान्स पठाइयो होला ? धेरैलाई यो आफैमा एक अविश्वसनीय तथ्यांक लागेको थियो । नेपाल राष्ट्र बैंकले नै त्यसको रहस्योद्घाटन गरिदिए पछि यो तथ्यांक अन्तत: मिथ्यांक हुन पुगेको हो । 

 

 

प्रकाशित मिति: : 2019-08-31 08:26:21

प्रतिकृया दिनुहोस्