एप्पल फेष्टिबलको तयारी पूरा

तस्बिरः बिएल

जुम्ली स्याउको चर्चा एक पटक फेरि चुलिएको छ। सुर्खेत नेपालगन्ज पुगेपछि भारतीय स्याउ विस्थापन भएका खबरहरू मिडियामा आइरहँदा जुम्लीहरू खुसी छन्। त्यसमाथि एप्पल फेष्टिबल (स्याउ महोत्सव) को रौनकले उत्साह थपेको छ।

किसानहरू आफूले फलाएको स्याउ ल्याएर फेष्टिबलमा सहभागि हुन आतुर रहेका जनाइरहेका छन्। स्याउ महोत्सव आयोजना हुने खबरले आफू उत्साहित भएको चन्दननाथ नगरपलिका-२ का किसान अमरसिंह बुढथापाले जनाए।

फेष्टिबलमा स्याउको उत्पादन, सम्भावना र चुनौतिबारे छलफल हुनेछ। पछिल्लो समय जुम्लामा स्याउ उत्पादनको क्षेत्रफल बढेको भए पनि मात्रा अपेक्षा अनुसार बढ्न सकेको छैन। स्याउ बढी फलाएर बढी लाभ कसरी लिन सकिन्छ भन्ने प्रमुख मुद्दा हुने आयोजक संस्था कान्जिरोवा टाईम्सले जनाएको छ।

शनिबार जुम्लाको खलंगामा कर्णाली प्रदेशका कृषि तथा सहकारी मन्त्री बिमला केसीबाट उद्घाटन हुने कान्जिरोवा टाईम्सका प्रबन्ध निर्देशक महेन्द्र कार्कीले बिएल नेपालीसँग बताए।

जुम्ला स्याउ उत्पादनको सम्भाव्यता बोकेको जिल्ला हो। स्याउलाई कच्चा पदार्थको रुपमा प्रयोग गरेर थुपै उद्यम सञ्चालन गर्न सकिन्छ। कार्कीले भने, ‘नयाँ पुस्तालाई स्याउ खेती तथा यसमा आधारित उद्यममा आकर्षित गर्न सके रोजगारी बढ्नेछ, अर्थतन्त्रमा टेवा पुग्नेछ भने जिवनस्तर फेरिनेछ। सभ्याव्यता खोजी र पर्यटन व्यवसायलाई ध्यानमा राखि स्याउ महोत्सव गर्न लागिरहेका छौं।'

फेष्टिबलमा किसानले उत्पादन गरेका स्याउहरुको प्रतिस्पर्धा गराइनेछ। प्रथम, द्वितीय र तृतीय हुने किसानहरुले क्रमश पाँच, तीन र दुई हजार नगदका साथै ट्रफी र प्रमाणपत्र पाउनेछन्।

स्टलमा स्याउका विभिन्न परिकारहरू बिक्री गरिनेछ। हुड्के नाच, मागल, देउडा, पञ्चेबाजा लगायत स्थानीय सांस्कृतिक झांगी प्रस्तुत गरिनेछ भने राष्ट्रिय स्तरका कलाकारको पनि प्रस्तुति रहनेछ।

एप्पल फेष्टिबलले एग्रो टुरिजम प्रवर्द्धन गर्न सहयोग गर्ने आयोजकको मत छ।

प्रकाशित मिति: : 2019-08-30 18:54:58

प्रतिकृया दिनुहोस्