दुई हजार नेपाली रूपैयाँमा काठमाडौं-सिलगुढी अत्याधुनिक बस सेवा

Agency

पूर्वी नाका काँकडभिट्टा हुँदै दैनिक काठमाडौंबाट पश्चिम भारतको सिलगुडीसम्म बस सेवा शुरु गरिएको छ।

गत सोमबार काठमाडौंमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले सो सेवाको संयुक्त उद्घाटन गरेका थिए।

सेवा उद्घाटनसँगै दैनिक वातानुकूलित ४४ सिटका बा ५ ख ७९४२ र बा ५ ख ७९४३ नम्बरका नेपाल भारतमैत्री बसले सेवा दिइरहेका नेपाल भारतमैत्री सङ्घ संयुक्त यातायात प्रालिका अध्यक्ष भरत तिम्सिनाले बताए।

उनले पर्यटन वर्ष २०२० लाई लक्षित गरेर सरकारले काठमाडौंदेखि सीधा सिलगुडीसम्मको बस सेवा शुरु गरेको बताए।

पर्यटकीय आकर्षणको केन्द्रबिन्दु रहेको काठमाडौंमा भूटान, बङ्गलादेश, भारतको सिक्किम, दार्जिलिङ, काम्लिपोङ, बर्मालगायतका पर्यटकलाई स्थलमार्गबाट नै ल्याउन सो बस सेवा प्रभावकारी हुने उनको भनाइ छ।

काठमाडौंदेखि सिलगुडीसम्मको ६५० किमि लामो यात्रा गर्न बसलाई १८ घण्टा लाग्ने अध्यक्ष तिम्सिनाको भनाइ छ।

उनका अनुसार हरेक दिन बसले अपराह्न ३:०० बजे काठमाडौं छोड्ने र काँकडभिट्टादेखि पानीट्याङ्की हुँदै भोलिपल्ट बिहान ९:०० बजे सिलगुडी पुग्ने जनाइएको छ।

बस भाडा दुई हजार नेपाली तोकिएको छ। नेपाल र भारतबीच बस सेवाका लागि विभिन्न १२ रुट स्वीकृत गरिएका छन्। जसमध्ये काठमाडौं-सिलगुडी एघारौं रुट भएको उनले बताए।

तत्काल काठमाडौंबाट दुई र सिलगुढीबाट दुई गरी चार बस सञ्चालनमा ल्याउने भारत सरकारसँगको सहमति भए पनि भारतले आगामी १५ दिनभित्रमा मात्र सेवा सञ्चालनमा ल्याउने तयारी गरेको अध्यक्ष तिम्सिनाको भनाइ छ।

ग्रीन जेनेरेसनका अध्यक्ष अर्जुन कार्कीले काठमाडौं–सिलगुडी बस सेवाले कसैलाई नोक्सान नपुर्‍याउने र राष्ट्रलाई फाइदा पुग्ने बताए।

 उनले भने, ‘नजिकिरहेको पर्यटन वर्ष २०२० लाई सफल पार्न सरकारको यो पवित्र निर्णयलाई स्वागत गर्दै सबैको सहयोग आवश्यक छ।’ सो बस सञ्चालनबारे काँकडभिट्टाका यातायात व्यवसायी, नागरिक समाजका अगुवा भने विरोधमा उत्रिएका छन्।

स्थानीय सरोकार समितिका संयोजक ज्ञानेन्द्र घिमिरेले सिधा बस सेवा सञ्चालनले काँकडभिट्टाको व्यवसाय धरापमा पर्ने बताए। नेपाल ट्रेड युनियन व्यवसायी सङ्घका सल्लाहकार गोपाल शिवाकाटीले तत्काल दुई बस सञ्चालनमा आउँदा समस्या नभए पनि भविष्यमा भारतका हरेक शहरबाट नेपालका विभिन्न स्थानमा पुर्‍याउने सेवाले पूर्वी नाका काँकडभिट्टाको चहलपहल हराउनेमा चिन्ता व्यक्त गरे। रासस

प्रकाशित मिति: : 2019-08-29 19:48:51

प्रतिकृया दिनुहोस्