धानबालीको लागि आवश्यक खाद्यमलको अभाव भएपछि अहिले पर्साका किसान उत्पादन घट्ने भयले चिन्तित छन्।
किसानले समयमै मल नपाउँदा भारतबाट गुणस्तरहिन मलसमेत ल्याएर हाल्नुपरेको अवस्था छ भने कतिपय किसानले अनुदानको मल पनि नजिकको खाद्य भण्डार वा निजी पसलबाट दोब्बर मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता छ।
पर्सा जिल्लाको ग्रामीण भेगमा डीएपी तथा युरिया मल तोकिएको मुल्यभन्दा महंगोमा बेचविखन भइरहेको पाइए पनि सम्बन्धित निकाय मौन छ।
किसानको लागि कुनै कानुन वा ठोस प्रकृया नहुँदा बिचौलियाका रुपमा रहेका कृषि सहकारीले मनोमानी ढंगले बिक्री गर्ने गरेको तथा बजारमा खुलेयाम रुपमा बढी भाउमा मल बिक्री हुने गरेको पाइएको छ।
धानबालीमा अहिले पहिलो चरणको मल छर्ने समय हो। समयमै खाद्यमल नहाले पर्याप्त उब्जनी नहुने र किसानको वर्ष दिनको मेहेनत खेर जाने भएकाले महंगो मूल्यमै भए पनि खाद्यमल खरिद गर्न बाध्य रहेको बिन्दवासिनी गाउँपालिका गर्दौलका किसान किशोरी पटेलले बताए।
एक कठ्ठाको तीन मन (१ क्विन्टल २० किलो) धान दिने सम्झौता गरी साहुमहाजनको हुन्डा बाली सकारेकाले यस वर्ष कसरी पूर्ति गर्ने भन्ने चिन्ताले सताएको छ, अर्का किसान भोला मुखियालाई्। युरिया मल चर्को मूल्य तिरेर नजिककै निजी पसलमा खरिद गरे पनि डीएपी भने भारतबाट ल्याएर छर्नुपरेको उनले बताए।
किसान भोला मुखिया भन्छन्- 'बाध्य भएर भारतीय बजारको खाद्यमल ल्याएको तर भारतीय डीएपी गुणस्तरहिन तथा उर्वराशक्तिहिन रहेकाले बालीमा माटो छरे सरह भएको छ।'
अहिले किसानहरुले सात सयको युरिया एघार सयसम्ममा तथा एक्काइस सय पचास पर्ने डिएपी दुई हजार ६ सयसम्ममा खरिद गनुपर्नेको गर्दौलकै अर्का किसान नारायण गिरीले बताए।
सोही गाउँकी ६५ वर्षिय किसान लाल चुन्नी भन्छिन्, ‘तीन तहको सरकार आए पनि किसानले कुनै सेवा र सुविधा पाएका छैनन् । निजी पसलले मनपरी खाद्यमलको मूल्य बढाएपछि आफूले एक क्विटन्ल धान बेचेर २५ सयमा एक बोरा डिएपी खरिद गर्नु पर्यो।’
जिल्लाका अधिकांश किसानको अवस्था उस्तै छ। किसानहरू मल नपाएर हैरान छन्।
जीराभवानी गापा–२ सेढवाका किसानले भने निजी खाद्य भण्डारबाट चार सय बढीमा डिएपी मल खरिद गरिरहेका छन् । धेरैजसो किसान डिएपी मल अभावको कारण अहिलेसम्म भारतबाट मल ल्याएर खेतमा छरिरहेका छन् ।
मल अभाव हुँदा तरकारी खेतीमा समेत असर परेको छ। महँगो भाउमा हाइब्रिड तरकारी खेती गरेकोमा मल अभाव हुँदा सानोसानो आकारको तरकारी उत्पादन हुने गरेको छ ।
सरकारले कुनै ठोस योजना नल्याएको कारण चारैतिरबाट किसान मारमा पर्ने गरेका छन्। किसानको हितमा ठोस कानुन नहुँदा बिचौलिया बनेका कृषि सहकारीले मनोमानी मल बिक्री गर्ने गरेको तथा बजारमा खुल्लेयाम बढी भाउमा मल बिक्री हुने गरेको पाईन्छ। यसतर्फ सम्बन्धित निकाय भने मौन छ।
सोझासाझा किसानलाई सरकारले बढी मारमा पार्ने काम गर्दै आएको किसानहरुले बताएका छन्। धान, गँहु र तरकारी बालीका लागि पैकेजमा पनि मल आपूर्ति नगर्दा भारतीय बजारबाट मल खरिद गर्ने गरेको उनीहरुले बताए।
‘धानबालीको लागि डिएपी, युरिया र पोटास अनिवार्य चाहिन्छ। खास गरेर डिएपी, युरिया र पोटासले अहिले धानको टिलर (गाज) बढाउने काम गर्छ, जसमा धानको बाला लाग्छ। मलको कमीले धानको बाला कम हुन्छ वा सानो साईजको हुन्छ’ , कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डाक्टर रामचन्द्र यादवले भने।
डिएपी मलले जरा बलियो बनाउने, युरियाले बढाउने र पोटासले रोग किराबाट जोगाउने र उर्वरशक्ति बढाउने काम गर्छ । मल अभावको कुरा स्वीकार गर्दै उनले भने ‘धानबालीको लागि मात्र पर्सा जिल्लामा १०,३८ मेट्रिकटन कृषि साम्रगी कम्पनी तथा १७ हजार मेट्रिकटन साल्ट्र ट्रेडिङ कम्पनीले यस वर्ष बाँडेको छ। पर्सा जिल्लाका किसानका लागि यो पर्याप्त छैन। पर्साको हरेक क्षेत्रबाट मल अभावको गुनासो आइरहेको छ।’
यस वर्ष मलको कारण धान उत्पादनमा धेरै नै कमी हुने तथा धान रोपेको पहिलो गोडमेलपछि २५ दिनमा मल छर्नु अनिवार्य हुने कृषि प्रमुख डाक्टर यादवले बताए। रासायनिक मलको आपूर्ति भन्ने प्रदेश र संघीय सरकारको प्रमुख जिम्मेवारी भए पनि त्यो जिम्मेवारी पूरा नभएको उनको भनाइ छ ।
यस वर्ष पर्सामा ४५ हजार हेक्टरमा रोपाईँ भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।
गत वर्ष पर्सामा ४५ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई हुँदा ५.५ मेट्रिक टन प्रति हेक्टरको दरले उत्पादन भएको थियो। जुन विगतको वर्षभन्दा २७ हजार ५ सय मेट्रिक टन बढी उत्पादन भएको कृषि प्रमुख डाक्टर यादवले बताए।
भारतीय मल गुणस्तरीय नभएकोले सोचे जस्तो उत्पादन नहुन सक्ने र यस बर्ष मल अभावले गर्दा उत्पादन पनि घट्न सक्ने उनको बुझाइ छ। तेस्रो मुलुकबाट भित्रिने मल सरकारले रोपाई सुरु हुनु भन्दा पहिले नै व्यवस्थित गर्न नसक्दा यस्तो समस्या वर्षेनी उत्पन्न हुने गरेको हो।