भुमे गाउँपालिका–२ गाबाङका किसानलाई गोठ निर्माणसँगै उन्नतजातका बाख्रा वितरण गरिएको छ। गाबाङका सात घरपरिवारलाई व्यावसायिक बनाउन गोठ निर्माणसँगै छ/छ उन्नतजातका बाख्रा वितरण गरिएको हो।
जलवायु अनुकूलन तथा ज्ञान व्यवस्थापन कार्यक्रमअन्तर्गत कृषकलाई बाख्रा वितरण गरिएको बताइएको छ। युनाइटेड मिसन टु रुकुम क्लस्टर (युएमएन) को आर्थिक सहयोग र नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) को प्रविधिक सहयोगमा बाख्रा वितरण गारिएको हो। गाबाङका विपन्न परिवार, महिला, व्यवसाय गर्न इच्छुक तथा बाख्रापालन व्यवसायसम्बन्धी तालीम लिएका सात घरपरिवार छनोट गरी प्रत्येक घरपरिवारलाई गोठ निर्माण गरिदिएको र छ/छ वटाका दरले बाख्रा वितरण गरिएको मिक नेपालका अध्यक्ष भिउमान घर्तीले बताए।
उनीहरुको आयआर्जनलाई बढाई जीवनयापनमा सहज बनाउने उद्देश्यले अनुदानमा गोठ निर्माणसहित बाख्रा वितरण गरिएको उनले बताए। एक महीनाअघि नै ४० सम्म बाख्रा अटाउन सक्ने गोठ तयार बनाइसकेको मिक नेपालले जनाएको छ। प्रत्येक गोठ निर्माणका लागि रु ५४ हजार र बाख्रा खरीदका लागि रु ५० हजार खर्च भएको छ।
एक घरलाई रु एक लाख चार हजार बराबरको लगानी गरिएको छ। अनुदानमा गोठ निर्मानसँगै बाख्रा पाएपछि कृषक हर्षित भएका छन्। ज्योति बुढाले भनिन्, “अनुदानमा गोठ र बाख्रा पायौँ, अब व्यावसायिकरुपमा बाख्रा पाल्छौँ र यसैबाट जीविकोपार्जन गर्छौँ।” आफूहरुमाथि गरिएको यो लगानीलाई खेर जान नदिने उनीहरुले बताएका छन्। जिल्लामा खसीबोकाको मासुको माग बढ्दै गइरहेका बेला बाख्रापालन व्यवसायबाट राम्रो लाभ लिन सकिने मिक नेपालका अध्यक्ष घर्तीले बताइन्।
लेखा परीक्षण सुरु
रुकुमपूर्वमा लेखा परीक्षण शुरु भएको छ। जिल्लास्थित सबै सरकारी कार्यालय र स्थानीय तहको लेखा परीक्षण शुरु गरिएको हो। प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको अध्यक्षतामा जिल्लामा हुने लेखा परीक्षण यही भदौ ३० गतेसम्म चल्ने बताइएको छ। लेखा परीक्षणका लागि महालेखा परीक्षक कार्यालयबाट जिल्लामा आएको टोलीले कोष तथा लेखा नियन्त्रक कार्यालय रुकुमकोटमा डोर कार्यालय स्थापना गरेको छ।
सङ्घीयताले जन्माएको नयाँ जिल्ला रुकुमपूर्वमा सरकारी कार्यालय स्थापना भएसँगै लेखा परीक्षणका लागि महालेखा परीक्षक कार्यालयको टोली रुकुमपूर्व पुगेको प्रजिअ शर्माले बताए। लेखा परीक्षणका लागि महालेखा परीक्षक निर्देशक कृष्णप्रसाद ज्ञवाली, लेखा परीक्षण अधिकारी लुमविक्रम शाही, लेखा परीक्षण अदिक्षक फुलमाया लामा र सविन पङ्गेनीसहितको टोलीले लेखा परीक्षण गर्ने बताइएको छ। रासस