कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा कडाईका साथ विषादी चेकजाँच गर्न निर्देशन दिएका छन्।
मन्त्रालय मातहतका पशु, प्लान्ट र खाद्य क्वारेन्टाइन प्रमुखहरूलाई आइतबार मन्त्रालयमा बोलाएर मन्त्री खनालले विषादी परीक्षणमा कडाई गर्न निर्देशन दिएका हुन्।
मन्त्री खनालले मन्त्रालयमा सबैलाई बोलाएर विषादी परीक्षण लगायतका काम कसरी भइरहेको बारेमा जानकारी समेत लिएका थिए।
विषादी चेकजाँचमा भन्सार र अर्थसँगको समन्वय बढाउनुपर्नेमा जोड दिँदै मन्त्री खनालले उत्पादन बढाउने र परिणाम देखाउने कुरामा ध्यान दिन दिर्नेशन दिए। ‘तीन वटै क्वारेन्टाइनलाई व्यवस्थित गरौं। चेकजाँचलाई निरन्तर र कडाइ गरौं, हिजोका दिनमा अन्य देशबाट जसरी आइरहेको थियो त्यसरी ल्याउन नदिउ भन्ने कुरामा सचेत हुनुहोस्’, मन्त्रीले निर्देशन दिएको बैठकमा सहभागी एक अधिकारीले बताए।
अहिले भएका ल्यावलाई व्यवस्थित ढंगमा चलाउन सकेको खण्डमा विषादी परीक्षणमा समस्या नभएको उनको भनाई थियो। ‘हामीसँग भएका ल्यावलाई राम्रोसँग चलायौ भने विषादी जाँच गर्न समस्या हुन्न। अरू दुई तीन वटा ल्याव राखिन्छ। चेकजाँच निरन्तर हुन्छ त्यो आयातितमा मात्र होइन स्वदेशमा उत्पादन भएको उपजमा पनि निरन्तरता दिइन्छ,’ उनले भने।
हाल पशुपंक्षीतर्फ ८ वटा क्वारेन्टाइन कार्यालय, स्थायी र अस्थायी गरी २८ वटा चेकपोस्ट छन् भने कृषि तर्फ १५ वटा क्वारेन्टाइन कार्यालय छन्।