नेपालमा फोनबाट गाली, धम्की वा दुःख दिए १५ लाखसम्म जरिवाना र एक वर्षसम्म जेल !

फोन दुरूपयोग एक प्रतिकात्म तस्बिर । तस्बिर : एजेन्सी

नेपालमा फोनबाट कसैलाई गाली, धम्की वा दुःख दिए १५ लाखसम्म जरिवाना र एक वर्षसम्म जेल हुने सम्भावना बढेको छ ।

मुलुकमा प्रचण्ड बहुमत रहेको पार्टीको सरकारका तर्फबाट यस्तो कानुनको मस्यौदा गरिएकाले यो पास हुने र लागु हुने सम्भावना बढेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको नयाँ दूरसञ्चार ऐनको मस्यौदामा दूरसञ्चार सेवाका माध्यमबाट गाली गर्ने, धम्क्याउने वा अनावश्यक दुःख दिने काम गरे १० देखि १५ लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ ।

अहिले नेपालमा कार्यान्वयनमा रहेको २०५३ सालमा बनेको दूरसञ्चार ऐनमा कुनै व्यक्तिले दूरसञ्चार सेवाको माध्यमबाट गालीगलौज गर्ने, धम्क्याउने वा अनावश्यक दुःख दिएमा २५ हजार रुपैयाँसम्म जरिवाना गरी सेवा बन्दसमेत गराउन सक्ने प्रावधान छ । नयाँ ऐनको मस्यौदामा प्रस्ताव गरिएको जरिवाना रकम ६० गुणाले बढी हो ।

यसैगरी मस्यौदामा अनुमति नलिई दूरसञ्चार सेवा प्रयोग गरेमा ३० देखि ५० लाखसम्म जरिवाना गरी सेवा बन्द गर्न सकिने प्रस्ताव छ । अहिले यस्तो जरिवाना बढीमा ५ लाख रुपैयाँसम्म रहेको छ ।

प्रकाशित मिति: : 2019-07-22 07:59:38

प्रतिकृया दिनुहोस्