आलु जोगाउन भण्डारण गृह

तस्बिरः एजेन्सी

गलकोट नगरपालिका–१ स्थित दुदिलाभाटी, भण्डारवनमा आलु भण्डारण गृह निर्माण गरिएको छ । बीउ जोगाउन र उपभोग्य आलु सुरक्षित राख्न सो गृह बनाइएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका र कृषि ज्ञान केन्द्र पर्वतको आर्थिक सहयोगमा गृह निर्माण भएको हो । नगरपालिकाको दुई लाख, केन्द्रको  पाँच लाख र एक लाख १४ हजार बराबरको जनश्रमदानमा गृह बनेको निर्माण समितिका अध्यक्ष राजेन्द्र कुँवरले बताए।

गृह निर्माणले आलुखेतीको प्रवद्र्धनसँगै बजारीकरणमा टेवा पुग्ने विश्वास लिइएको छ। एकतले गृहमा १० टनसम्म आलु भण्डारण गर्न सकिने जनाइएको छ। भण्डारण गृह बनेपछि आलु किसान खुशी छन्। घरमा राख्दा कुहिने, किरा लाग्नेजस्ता समस्या झेलेका किसानले अब सहजै आलु भण्डारण गर्न पाउनेछन् ।

खेतबारीबाट झिकेको आलु लामो समयसम्म ताजा र सुरक्षित राख्न भण्डारण गृह उपयोगी मानिन्छ । संरचना बनाउँदा आलुका लागि तापक्रम अनुकूल हुने गरी निर्माण गरिन्छ । दुदिलाभाटीको भण्डारवन, ज्यामिरे, टोड्केलगायतका ठाउँमा बढी आलुखेती हुन्छ । “आलु खनेपछि लामो समयसम्म जोगाउनै गाह्रो थियो”, स्थानीय किसान हिराबहादुर किसानले भने, “अब किसानलाई सहज हुने भयो ।”

दुदिलाभाटीलाई आलुको ‘पकेट’ क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । अहिले ५०० रोपनीभन्दा बढी क्षेत्रफलमा आलुखेती हुँदै आइरहेको छ । “आलुको व्यवसायीकरणमा पनि भण्डारण गृहले सघाउँछ, यसबाट किसानले फाइदा लिन सक्नुपर्छ”, समितिका अध्यक्ष कुँवरले भन्नुभयो । जिल्लाको ताराखोला, ढोरपाटन, दमेक, धम्जालगायतका क्षेत्र आलुका लागि ‘पकेट’ मानिन्छन् । रासस

प्रकाशित मिति: : 2019-07-20 15:47:00

प्रतिकृया दिनुहोस्