तराईमा आकासियो तरकारीको मूल्य, ३० रुपैयाँको गोलभेडा ९० मा बिक्री

बाढी र डुवानका कारण तरकारीको मूल्य आकासिएको छ ।

तराईमा केही दिनदेखि जारी वर्षा र डुवानका कारण कृषकले लगाएको तरकारी नष्ट भएको छ। जसका कारण बजारमा तरकारी अभाव हुन थालेको व्यापारीहरूले बताएका छन् ।

मूल्य बढेसँगै उपभोक्ता भने मारमा परेका छन् ।

विराटनगरको गुद्री बजारस्थित तरकारी थोक विक्रेता पशुपति भगतले तराई क्षेत्र डुवानमा पर्दा तरकारीको अभाव हुुनु स्वभाविक भएको ब्रेक एन लिंक्स (बीएल मिडिया) लाई जानकारी दिए।

उनले कृषकको बारीमै तरकारी नष्ट भएपछि बजारमा पनि कम आउन थालेको बताए । ‘डुवानबाट बचेका तरकारी ल्याएर कृषकले विक्री गरिरहेका छन्,’ भगतले भने, ‘माग बढे पनि आवश्यकता अनुसार तरकारी बजारमा आउन सकिरहेको छैन ।’

उनले प्याज र आलु बाहेक बजारमा सबै खाले तरकारीको अभाव हुन थालेको बताए। उनले आलु र प्याजमा खासै मूल्य नबढेको तर दैनिक उपभोग्य तरकारीको मूल्य भने आकासिएको बताए।

पहिले प्रति किलो ३० रुपैयाँमा पाइने टमाटर अहिले ९० रुपैयाँ पुगेको छ। भगत भन्छन्, ‘प्रति किलो १० मा पाइने भिन्डी ४० रुपैयाँ, २० को पर्वल ६० रुपैयाँ, ४० को खुर्सानी एक सय ६० रुपैयाँ, २० को बैगुन ५० रुपैयाँ, १० को स्कुस ३० रुपैयाँ, २० को करेला ६० रुपैयाँ र प्रति किलो ३५ रुपैयाँको झिग्नीको मूल्य ७० रुपैयाँ पुगेको छ।’

गुद्री बजारबाट दैनिक ३० मेट्रिक टन भन्दा बढी तरकारीको कारोवार हुने गरेको छ।

तरकारी थोक विक्रेता रन्जीत गुप्ताले तरकारी आपूर्ति बढी हुने स्थान डुवानमा परेर कृषकले क्षति बेहोर्नु पर्दा यस्तो समस्या आएको बताउँछन्। पहाडी भेगबाट आउने तरकारीको सवारी साधन ठाँउठाँउमा रोकिँदा मूल्य आकासिएको उनको भनाई छ।

 

 

 

 

 

प्रकाशित मिति: : 2019-07-18 14:10:29

प्रतिकृया दिनुहोस्