छ महीनापछिसदरमुकाम दुनै, जुफाललगायत स्थानमा विद्युत् सेवा पुन: सञ्चालन

डोल्पा सदरमुकाम जुफाल।

डोल्पा । हिमाली जिल्ला डोल्पामा ६ महीनापछि विद्युत् सेवा पुनःसञ्चालन भएको छ। ठूलीभेरी नगरपालिकामा पर्ने २०० किलोवाट क्षमताको साना जैरीगाढ जलविद्युत् आयोजना अवरुद्ध भएको करीब छ महीनापछि पुनःसञ्चालन भएको हो ।

लामो समयदेखि अवरुद्ध जलविद्युत् आयोजना सोमबारदेखि पुनः सञ्चालन भएपछि सर्वसाधारण खुशी भएका छन् । विद्युत्को नहरमा गत फागुनमा करीब ६० मिटर सुख्खा पहिरो जाँदा विद्युत् सेवा बन्द भएको थियो ।

नेपाल विद्युत प्राधिकरणको रु ५५ लाखको लागतमा भत्केको नहर मर्मत गरी विद्युत् सेवा पुनःसञ्चालन गरिएको इञ्जिनीयर बादल बुढामगरले जानकारी दिए। विद्युत् नहुँदा लामो समयसम्म अन्धकार खेप्न बाध्य सदरमुकाम दुनै, जुफाललगायतका गाउँबस्तीका सर्वसाधारणहरु बत्ती बलेसँगै खुशी भएका हुन्।

भत्किएको नहर प्रभावकारी रुपमा निर्माण गरिएकाले प्राकृतिक विपत्ति नआएमा नियमित विद्युत् सेवा सञ्चालनमा आउने नेपाल विद्युत् प्राधिकरण डोल्पा वितरण केन्द्रले जनाएको छ।

विद्युत् खपत बड्दै गएकाले विद्युत् भार कटौती जारी हुने वितरण केन्द्रको भनाइ छ । जैरीगाड जलविद्युत्बाट एक हजार २५० घरधुरीले विद्युत् सेवा पाएका छन् ।

प्रकाशित मिति: : 2019-07-09 16:28:33

प्रतिकृया दिनुहोस्