नेपाल बिटुमिन तथा ब्यारेल उद्योग लिमिटेडले १४ करोड बढी राजस्व छलीको मुद्धामा पञ्चकन्या समूहलाई हालसम्म कार्यवाही नभएको भन्दै राजस्व विभागप्रति गम्भीर आपत्ति जनाएको छ।
लिमिटेडले दुई वर्षअगाडि दायर गरिएको मुद्धाको हालसम्म छिनोफानो नभएको भन्दै राजस्व विभाग र पञ्जकन्या समूहबीच मिलेमतोको आरोप लगाएको छ।
नेपाल बिटुमिन तथा ब्यारेल उद्योग लिमिटेडले २०७४ सालमा १४ करोड ८५ लाख रुपैयाँ असुलउपर गरिपाउँ भनि स–प्रमाण राजस्व विभागमा उजुरी दर्ता गराएको थियो।
तर, उजुरी परेको दुई वर्ष बितिसक्दा पनि राजस्व विभागले छानवीनको प्रक्रियासमेत सुरु गरेको छैन।
नेपाल बिटुमिन तथा ब्यारेल उद्योग लिमिटेडले आर्थिक वर्ष २०७१–७२ मा पञ्चकन्या समूहको नाफा–नोक्सानको वासलात छानबीन गर्दा राज्यलाई १४ करोड ८५ लाख बराबरको आयकर नोक्सानी पुर्याएको प्रमाण फेला परेपछि राजस्व विभागमा स–प्रमाण उजुरी दर्ता गराएको थियो।
राजस्व अनुसन्धान विभागलाई २०७४ साल बैशाख १५ मा पठाइएको पत्रमा कम्पनीका प्रवन्ध सञ्चालक तथा कारख़ाना सञ्चालकको मिलोमतोमा भौतिक परीक्षण लोप गराएको आरोप पनि लगाइएको छ। नेपाल बिटुमिन तथा ब्यारेल उद्योग लिमिटेडको निवेदनपछि पञ्चकन्यामा राजस्व विभागले छापा पनि हानेको थियो।
तर, यस पश्चात मुद्धाको छानवीन हुनुको सट्टा फाईल अगाडि नबढ्नुले गम्भीर प्रश्न उठाएको छ।
पञ्चकन्याले आर्थिक वर्ष ०६८–६९ देखि कम्पनीले हाल सम्म बैंक कर्जाको झुट्टा विवरण ठूला करदाता कार्यालयमा पेश गर्दै आएको छ। लिमिटेडले यसको समेत छानविन गरी लोप गरेको आयकर उठाई पाउन अनुरोध गरिएको छ।