समयक्रमसँगै खेतीपातीका विशिष्टिकृत रुपले विभेद हुँदै वर्गीय विभाजन ल्याए । भात खाने उच्चस्तरका र नखाने निम्नस्तरका बनाइए । पाखोमा बस्ने अपहेलित हुँदै गए। खसिया, पावैलगायतका शब्दमा अपमान मिसिन थाल्यो । धानखेती प्रतिष्ठा, सम्पत्ति र शक्तिसँग जोडियो । नेपालमा लामो समयदेखि खेत हुने माथिल्लो वर्ग कहलिए।
पैताला फुटेर चरचर चहर्याइरहेका छन् । ढाड दुखेर मर्नु भएको छ । दायाँ हातको औँलाका टुप्पामा राता डाम बसेका छन् । कहाँनेर कमजोर ठाउँ भेटौं र ज्वालामुखीझैं बाहिर आउँ भनेर भित्रबाट रगत बल गरिरहेछ । महिना दिन लामो हिलो, माटो र ढुंगासँगको कुस्ती हारेका कैदी जस्ता भएका छन्, औँला । तिनलाई छुनु भनेको जेलका कैदीलाई यातना दिएजस्तो हो । समय नपुगी कैदी यातनाबाट मुक्त नभएझैं हातका औँला पनि मुक्त हुँदैनन् । यो यातना क्रम हरेक बिहान फरक– फरक बेर्नामा बीउ उखेल्न जाँदा बीउका पुला बाँध्ने झ्याँझ्याँका बोट उखेल्न लागेबाटै सुरु हुन्छ।
झिसमिसे बिहानै ओछ्यान छोडेको जीउले साँझ अबेरसम्म पनि ओछ्याउन भेट्न पाउदैन। ओछ्यान भेटिएसँगै ऐठन सुरु हुन्छ। ओल्टिँदा पल्टिँदै फेरि ओछ्यान छोड्ने बेला भैसक्छ। आँखा मिच्दामिच्दै सुरु हुन्छ- महिना दिन लामाे दिनचर्या।
दुखाइको क्रम मैझारोको दिनसम्म मात्र कहाँ हो र ? असारमा खेत गोडुन्जेलसम्म चलिरहन्छ । जेठको पहिलो साता सुरु भएको रोपाइँ महाअभियान असारको पहिलो साता सकिसकेको हुन्छ। पुरुषहरु फुक्का फुल भैसक्दा महिलाहरु फेरि खेतमा पस्न सुरु गर्छन् । रोपाइँको चटारोले सोझिन नपाएको ढाड गोड्ने बेला जुम्ली हलोको डाँडोजस्तो बाङ्गो भैसकेको हुन्छ।
ताताने लागेर पोलेका खुट्टा, कठोर शारीरिक श्रमको दुखाइ खप्न नसकेर उज्यालिन नसकेको मुहार त्यतिबेला मात्र उज्यालो हुन्छ जतिबेला माइतबाट माइतीहरु टुप्लुक्क खेतका आलीमै अषाडे पोको पुर्याउन आइपुग्छन्। चम्किलो मुहारका आँखाबाट दुःख –सुख घोलिएर बगेका आँसु चिउँडो हुँदै खेतको पानीमा मिसिदा माइतीका गला अवरुद्ध हुन्छन्। केही बोल्न नसकी फर्किन्छन्। तर, टिलपिल आँसु चुहाउँदै खाएका माइतीका टाटे(पुरी) भने संसारकै मिठा परिकारमध्ये एक लाग्छन्।
हामीले देखेको यो कथा जेठमा रोपेको धान कार्तिकमा काट्दैमा सकिदैन। पुरुषहरु लठ्ठ भएर शिवजी हराउने प्रतिस्पर्धा गरिरहेको शिवरात्रिको दिन महिलाहरु भने धानको बेर्ना सफा गर्ने कार्यको सिरोधार्य गरिरहेका हुन्छन् र त्यही दिनबाट धान खेतीकाे चक्र प्रारम्भ भैसक्छ।
धानको सग्लो जीवनचक्रमा पुरुषको भन्दा महिलाको योगदान बढी छ। काम बाँढिएका छन्। महिलाका भागमा पुरुषको भन्दा कम परेको छैन । कामको भाग बढी नपर्नु भनेको दु:ख बढी गर्नु हो। दुबैको सहकार्यमा धान खेती सम्भव भएको छ । तर, श्रमको व्यारोमिटरको रेटिङ महिलातिरकै बढी हुन्छ।
खेत जोत्नु, मइ लगाएर दबदबे हिले बनाउनु । बिँगारो लगाएर खेत सम्याउनु । असारमा धान गोडी सकेपछि खेत छाल्नु यी पुरुषका काम हुन्। पुरुष एक्लैले एक घण्टामा रोप्न मिल्ने बनाएको खेत रोपिसकाउन दुई महिलालाई एक दिन पूरै लाग्छ। एउटी महिलाले दुई दिन लगाएर गोडेको खेत छाल्न पुरुषलाई आधा घण्टा लाग्छ। धान काट्ने, झार्ने र घर भित्र्याउन लाग्ने श्रम बराबर हो। आफ्नै खेतमा काम गरेको हो भने बढो फूर्तिसाथ महिलाभन्दा बढी काम गरेको स्वाङ पार्छ। यदि अरुको काम गरेको हो भने ज्याला बढी थाप्छ। महिलाले श्रम सहकार्य गर्छन्। उनीहरुको श्रम सहकार्यको मूल्यभन्दा पनि अर्म-पर्ममा सकिन्छ।
भान्साको भात पुरुषले खान्छन् । रोटी महिलाले । पुरुषले दुई छाक भात खाँदा महिलाले एक छाक भात खान्छन् । भात वा रोटीमध्ये फाइदा जसको बढी भएपनि स्वाद भने भातकै मझेदार मानिन्छ । यसरी भात र जिब्रोसँगको सहकार्यमा महिलाको स्थान दोस्रो हुन्छ । यद्यपि पछिल्लो समय सडक खुलेसँगै भातको विभेद कम हुँदै गएको छ ।
जिन्दगीको गणितमा हिसाब गर्ने हो भने चैत-बैशाख, जेठ-असार र कार्तिक महिनामा धानको काम बढी हुन्छ। तीबाहेक अरु महिनामा जौ, गौ, मकै, कोदो, आलु, सिमीलगायतका बालीनाली भित्र्याउनमा महिलाले नै मेहेनत लगाउँनु पर्छ। सामान्यत: महिलाले दिनको झण्डै १६ घण्टासम्म पनि काम गरेर काममा सधैं पहिलो हुनुपर्छ। तर, खानेबेला जहिले पनि दोस्रो। यसरी महिलाको जीउ, डाढ, औँला शारीरिक श्रमले दुखाउँछ। मन भने आफूप्रति समाजले गर्ने व्यवहारले दुखाउँछ।
समाजमा असारदेखि बैशाखसम्म भएका बिहेबारीले सामाजिकीकरणको रुप लिन जेठको रोपाइँ कुर्नुपर्छ। त्यस्तै छोरो जन्मिएको थप खुशी साँट्न पनि पनि जेठकै रोपाइँ कुरिन्छ । छोरोको बिहे गरेको साल र छोरो जन्मिएको साल त्यो घरले जेठमा ‘चोपाइँ’ गर्छ। ‘चोपाइँ’ त्यसैको लागि मनाउने सांस्कृतिक उत्सव हो। त्यस दिन घरमा नातागोता र आफन्तको जमघट हुन्छ। बाजाको घन्काइसँगै महिला श्रृङ्गारिएर रोप्न जान्छन्। बाजाको तालमा दिनभर रोप्दै गाउँदै रमाइलो गर्छन्। रोपी सकाएपछि ठुलो खेतमा पुल्ती हालिन्छ। त्यसको वरिपरि बेहुला, बेहुली र छोरोलाई घुमाइन्छ। गाउँका पहलमानले बल प्रदर्शनी गर्छन्। महिला खेतमा नाँच्छन्। हिलो खेल्छन्। नाँच्दै घरसम्म पुग्छन्। मिठो परिकार खाएर दिन सकिन्छ । छोरी जन्मिदा होस् वा बिहे गरेर जाँदा, रोपाइँको बेला उसको लागि कुनै उत्सव आयोजना हुँदैन। छोराको चोपाइँ सकिदा खाएको मिठो परिकारले जिब्रोले निकालेकाे मिठाे रस यी संस्कार, संस्कृति र उत्सवको अन्तर्यमा पुग्दा अमिलो बनिदिन्छ।
धानखेती वेंसीमा गरिन्छ। जसलाई जिउलो भनिन्छ र त्यहाँ वरिपरि बसेर धानखेती गर्नेलाई जीउलेल। धानखेती नहुने ठाउँलाई पाखो (लेक) भनिन्छ। त्यहाँ बस्नेलाई पावै। यी खेतीपातीको विविधताले सिर्जना गरेका नाम हुन्। यी मानव समाजले आर्जेका अमूल्य सम्पत्ति हुन र गर्व गर्नुपर्ने विषय हुन्। यी विशिष्टिकरणका अनुपम रुप हुन्। तर, समयक्रमसँगै खेतीपातीका विशिष्टिकृत रुपले विभेद हुँदै वर्गीय विभाजन ल्याए। भात खाने उच्चस्तरका र नखाने निम्नस्तरका बनाइए। पाखोमा बस्ने अपहेलित हुँदै गए। खसिया, पावैलगायतका शब्दमा अपमान मिसिन थाल्यो। धानखेती प्रतिष्ठा, सम्पत्ति र शक्तिसँग जोडियो। नेपालमा लामो समयदेखि खेत हुने माथिल्लो वर्ग कहलिए। भात खानु भनेको ढिँडो र आटो खानुभन्दा प्रतिष्ठाको कुरा हुन गयो। केही स्थानबाहेक।
मार्सी धानक राेप्ने हुम्लाको चाैधानफाेया र जुम्लामा श्रमकाे प्रयाेगमा भिन्नता छ। हुम्लामा घरका लोग्नेमानिस, ठकुरी नै भए पनि, खेतमा आफैँ हलाे भाउँछन् र स्वास्नीमानिस रोप्छन्, गोड्छन्। जुम्लातिर पनि स्वास्नीमानिस नै रोप्छन् गोड्छन्, टोकल्छन्। तर, घरका लोग्नेमानिस हलो भाउँदैनन्। आ-आफ्ना लगी कथित डुम(दलित)ले आएर खेतमा हलो भाउनु पर्छ। (हेर्नुस्, देविचन्द्र श्रेष्ठ, हुम्ला बाेल्छ मानसरोवरमा, पृष्ठ, १६)
साहुको खेतमा काम गर्नेहरु बालीघरे कहलिए। तिनका दिन कहिले फिरेनन्। श्रम शोषणको चपेटामा परेको उनीहरु दिनहिन र भूमिहिनको रुपमा जीवन विताइरहेका छन्। जुम्लाको मार्सी धनाका खेती गर्न सघाउने हली भए। साहु, मुखिया र उपल्लाे जातका हलीका लगीमानी भए र हली उनका निजी सम्पत्ति।
जुम्लामा कथित अछुतै भएपनि त्यस घरका महिलाले काम नगरी सुख छैन। आफूलाई सभ्य वा विकसित भन्ने समाजमा उत्पादनको निमित्त श्रमको न्यायोचित प्रयोग हुन कसरी बञ्चित पारिएको छ त्यसको उदाहरण जुम्लाले दिन्छ भने आफूलाई जुम्लाको तुलनामा असभ्य वा अविकसित सम्झने समाजमा उत्पादनको निम्ति श्रमको कसरी न्यायोचित प्रयोग हुँदो रहेछ भन्ने अर्को उदाहरण हुम्लाले प्रस्तुत गर्छ। (उही)