बागलुङमा व्यावसायिक खरायोपालन

तस्बिरः एजेन्सी

बागलुङ ।

बागलुङ नगरपालिका–३ गौडाकोटका नारायण शर्माले व्यावसायिकरुपमा खरायोपालन शुरु गरेका छन्।

शर्माले चार महिना अगाडि घरमा पालेका दुई वटा खरायो जैमिनी नगरपालिकाको राङ्खानीबाट ल्याएका थिए। ‘दुई वटाबाट शुरु गरेको खरायोपालन अहिले २५ वटा पुर्‍याएको छु’, शर्माले भने।

व्यावसायिक रुपमा खरायो पाल्नका लागि आठ लाखको लागतमा खोर निर्माण गरेको बताउँदै शर्माले खरायोको सङ्ख्यामा वृद्धि गर्ने योजना रहेको सुनाए। ‘हालसम्म तीन जोर खरायो बेचेँ’, शर्माले भने, ‘एक सय पुर्‍याएर मात्र अब बेच्ने योजना छ।’

खरायो शाकाहारी भएकाले घाँस मात्र खुवाउँदा धेरै खर्च लाग्दैन ।

हाल खरायोलाई मासुका रुपमा प्रयोग गर्ने प्रचलन बढेको छ। सेतो मासु भएका कारण रातो मासु नखानेका लागि उपयुक्त हुन्छ। एक जोर खरायोलाई एक हजार पर्छ। ‘एक सय पुर्‍याएपछि मासुका लागि बिक्री–वितरण गर्ने योजनामा छु’, शर्माले भने।

अहिले ठूला होटल तथा रिसोर्टमा खरायोको मासुको माग रहेको थाहा पाएकोले खरायोपालनलाई व्यावसायिक रुप दिएको शर्माले बताए।

करीब ५–६ महीनाको उमेर पुगेपछि पोथी खरायो वयस्क हुन्छ। गर्भ रहेको २८ देखि ३२ दिनमा नै खरायोले चारदेखि १२ वटासम्म बच्चा जन्माउने गर्छ। फेरि त्यसको १२–१५ दिनमा नै पुनः गर्भधारण गर्छ। त्यसैले पनि भालेको भन्दा पोथीको मूल्य बढी पर्छ। खरायो जन्मेको तीन महीनामा नै मासुका लागि योग्य हुन्छ। खरायो पाल्नका लागि त्यति धेरै जग्गा नचाहिने घरको कुनै एक छेउ, कौसीमा पनि गर्न सक्ने भएकाले यो व्यवसायमा हात हालेको उनको भनाइ थियो।

प्रकाशित मिति: : 2019-06-19 14:02:16

प्रतिकृया दिनुहोस्