कोरियाको काइसोङ औद्योगिक क्षेत्र खुला गर्न व्यापारी समुदाय उत्सुक

तस्बिरः एजेन्सी

दक्षिण कोरियाका एकीकरण मन्त्री किम योन–चुलले उत्तर कोरियाको सीमावर्ती शहर काइसोङमा रहेको औद्योगिक क्षेत्र पुनः सञ्चालनमा ल्याउन व्यापारिक समुदायसँग छलफल गरेका छन्।

उत्तर कोरियाले आणविक परीक्षण गरेसँगै काइसोङ औद्योगिक क्षेत्र बन्द भएको थियो। यस क्षेत्रमा दक्षिण कोरियालीको लगानीमा केही कारखानाहरु सञ्चालनमा थिए। यो क्षेत्रले उत्तर कोरियाली नागरिकहरुलाई रोजगारीको अवसर सिर्जना गरेको थियो ।

छलफलका क्रममा सन् २०१६ मा एकाएक बन्द भएको उक्त औद्योगिक क्षेत्रमा रहेका औद्योगिक उपकरणको अवस्था बुझ्न २०० जनाभन्दा बढी उद्योगी–व्यवसायीले काइसोङ भ्रमणका लागि अनुमति चाहेको बताएका थिए। औद्योगिक क्षेत्र बन्द भएयता उद्योगी व्यवसायीले यस्तो अनुरोध गरेको यो नवौं पटक हो ।

एकीकरण मन्त्रालयले व्यवसायीहरुले उत्तर कोरिया भ्रमणका लागि सहयोगको आग्रह गरेको जनाएको छ।

मन्त्रालयका अनुसार मन्त्री किमले व्यवसायीको अनुरोधलाई ध्यानपूर्वक सुनेको र निरन्तर सम्पर्कमा रहने बताएका थिए।

यसअघि दक्षिण कोरिया सरकारले काइसोङ औद्योगिक क्षेत्रको भ्रमणमा जान व्यवसायीलाई रोक लगाउँदै आएको थियो। खासगरी संयुक्तराज्य अमेरिकाले लगाइरहेको आर्थिक प्रतिबन्ध तथा उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणका कारण काइसोङ औद्योगिक क्षेत्र सञ्चालनका बारेमा अन्यौल कायम छ ।

सन् २००४ मा खुलेको काइसोङ औद्योगिक क्षेत्र उत्तर–दक्षिण कोरियाको सफल आर्थिक सहयोग परियोजनाका रुपमा लिइएको थियो । यो औद्योगिक क्षेत्रमा दक्षिण कोरियाको पूँजी र उत्तर कोरियाको सस्तो श्रम प्रयोग हुने गरेको थियो । तर सन् २०१६ मा तत्कालीन राष्ट्रपति पार्क ह्यून–हेको आदेशमा उक्त औद्योगिक क्षेत्रबाट व्यवसायीहरु पलायन भएका थिए ।

प्रकाशित मिति: : 2019-05-04 00:47:06

प्रतिकृया दिनुहोस्