सोमबारदेखि पाकिस्तानमा नागरिक उड्ययन सेवा सुचारु हुने

तस्वीर - रोयटर्स

भारतसँग हवाई युद्धकै संघारमा पुगेपछि नागरिक उड्ययन सेवामा लगाएको रोक पाकिस्तानले सोमबारबाट फुकुवा गर्ने भएको छ।

पाकिस्तानको नागरिक उड्ययन प्राधिकरणले आफ्ना विमानस्थलबाट हुने सार्वजनिक हवाई उडानमा लगाएको रोक स्थानीय समयअनुसार सोमबार अपराह्न १ बजेबाट पूर्ण रुपमा फुकुवा गर्ने जनाएको हो।

यसअघि गत शुक्रबार नै पाकिस्तानका कराँची, राजधानी इस्लामावाद, क्वेटा र पेशावर शहरका विमानस्थलमा नागरिक उड्ययनको रोक आंशिक फुकुवा गरिएको थियो भने आइतबार लाहौर शहरको अल्लामा इकबाल विमानस्थल पनि आंशिक खुला गरिएको थियो ।

यो साता भारत र पाकिस्तानबीच हवाई युद्ध नै हुनसक्ने अवस्था आएपछि पाकिस्तानले आफ्नो आकाश तथा विमानस्थल नागरिक उड्ययन सेवाका लागि ठप्प पारेको थियो ।

पाकिस्तानको गिल्गिट बाल्टिस्तान, पन्जाब तथा सिन्ध प्रान्तका केही विमानस्थल शनिबार पनि बन्द रहेको  पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

नागरिक उड्ययनका लागि आंशिक खुला गरिएका तथा पूर्ण रुपमा बन्द रहेका सबै विमानस्थल सोमबारबाट पूर्ण रुपमा सञ्चालनमा आउनेछ ।

प्रकाशित मिति: : 2019-03-03 21:41:12

प्रतिकृया दिनुहोस्