ट्वाइलेट कन्ट्रोभर्सीमा सरोज खनाल

नेपालका भेट्रन अभिनेता सरोज खनालको तस्बिर हो यो । धेरैलाई लाग्न सक्छ यो कुनै चलचित्रको रिल दृश्य हो । तर, त्यस्तो हैन यो नेपालको राष्ट्रपति निवासको ट्वाइलेट हो र तस्बिर केही दिनअघि आयोजित नेशनल अवार्ड वितरण समारोहको केही घण्टा पहिलेको हो । 

चलचित्र प्रेमपिण्डको नायक (नहकुल) को गेटअपमा रहेका सरोज त्यही कार्यक्रममा समूह नृत्यका लागि राष्ट्रपति कार्यालयको प्रेक्षालयमा पुगेका थिए । ठूलो घरको ठूलै चाला भनेझै राष्ट्रपति कार्यालयमा चार बजेको कार्यक्रमका लागि कलाकारलाई दुई घण्टा अगाडि नै बोलाइएको थियो । सरोज पनि त्यही अनुसार त्यहाँ पुगे । तर, विडम्बजना त्यहाँ कलाकारलाई बस्नका लागि कुनै ठाउँ नै थिएन । त्यसैले उनी ट्वाइलेटको कमोडमा बसेर आराम गर्न थाले ।

यतिकैमा कलाकार छुल्ठिमले सरोजको फोटो खिचिदिइन् र सरोजलाई पठाइ दिइन् । त्यो देखेपछि उनको स्वाभिमान जाग्यो र उनले त्यसलाई अभिनेत्री करिश्मा मानन्धरमार्फत् सार्वजनिक गराए । त्यसपछि यो तस्बिर मात्र भाइरल भएन कि यसको पक्ष विपक्षमा बहस नै सुरू भयो ।शीर्षक दिइयो- ट्वाइलेट कन्ट्रोभर्सी । 

आदरणीय अध्यक्ष ज्यु (दाजु )तीन बर्ष देखि हुन नसकेको "राष्ट्रिय चलचित्र पुरस्कार तथा दिर्घ साधना सन्मान" भब्यताका साथ सम्पन्न गर्नु भएकोमा तपाई लगायत चलचित्र बिकास बोर्डलाई हार्दिक बधाई ... तर सानो अनुरोध , जसरी आमन्त्रित पाहुना र अतिथिहरु लाई सुब्यबस्थित तरिकाले बिराजमान गराउनु भएको थियो त्यसरी नै कार्यक्रममा आफ्नो प्रस्तुति दिन आएका ३o /४o जना हामी नर्तक/नर्तकिहरु लाई ८x १० को कोठामा घन्टौ भेडा बाख्रा जस्तो कोचेर नराखी दिएको भए हुन्थ्यो कि?
सरोज खनाल  
(यो आयोजक चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको फेसबुक स्टाटसमा सरोजले पोष्ट गरेको प्रतिक्रिया हो ।)

सरोज भन्छन्- 'यो अति हो तर पनि म यसलाई कन्ट्रोभर्सी बनाउने पक्षमा छैन । मैले चाहेको कसैले न कसैले बोल्नुपर्थ्यो, मैले बोलें । आइन्दा यस्तो नहोस् मेरो चाहना यति हो ।'

नेपालका भेट्रन कलाकार सरोज खनालका लागि यस्तो परिस्थिति आउनु दु:खद पक्ष हो भन्ने कुरामा असहमत कोही देखिएन । तर, यस्तो हर्कतमा तस्बिर खिचेर सार्वजनिक गर्नुको सन्देश पनि सकारात्मक गएन । त्यस्तो मत राख्नेहरूले भने- ' यो अत्यन्त दु:खद कुरा हो । तर, त्योभन्दा पनि तन्नम सोच हो यसको पब्लिसिटी । यसरी कसैको इज्जत र गरीमा बढ्दैन ।' 

 

प्रकाशित मिति: : 2019-07-14 02:16:11

प्रतिकृया दिनुहोस्