‘सुपर–३०’ का गणितविज्ञ आनन्द कुमारलाई ट्युमर, फिल्म छिट्टै रिलिज गर्न आग्रह

Agency

भारतका चर्चित गणितविज्ञ आनन्द कुमारले आफ्नो विषय बस्तुमा बनेको ‘बायोपिक’ छिट्टै रिलिज गर्न अनुरोध गरेका छन्।

ऋतिक रोशन अभिनित फिल्म ‘सुपर ३०’ आनन्द कुमारको कथामा आधारित छ। आनन्द कुमारको शरीरमा ‘अकोस्टिक न्युरो’ मा फेला परेपछि उनले आफ्नो बायोपिक छिट्टै रिलिज गर्न अनुरोध गरेका हुन्।

उनको टाउकोमा ट्युमर पलाएको छ। आफ्नो स्वास्थ्यको विषयमा जानकारी दिँदै उनले भने, ‘मर्ने र बाच्ने विषय कसलाई थाहा हुन्छ र! त्यसैले म आफ्नो बायोपिक छिट्टै हेर्न चाहन्छु।’

उनले ट्युमरकै कारण २०१४ मा दाहिने कान सुन्न छोडेको बताएका छन्। उनले बिहारको राजधानी पटनामा आफूले धेरैपल्ट रोगको उपचार गरेको जानकारी पनि दिए।
उनले भारतको राजधानी नयाँ दिल्लीस्थित राममनोहर लोहिया अस्पतालमा पनि उपचार गराएको बताएका छन्।

‘अहिले म चर्चित न्युरो सर्जन डा. बिके मिश्राको रेखदेखमा छु। मिश्रा मुम्बईस्थित हिन्दुजा अस्पतालमा कार्यरत छन्,’ उनले भने।

उनले ऋतिकले आफ्नो भूमिकामा पूर्ण न्याय गरेको अवगत गराए। ‘आफ्नो मिहिनत र लगावका कारण ऋतिकले मेरो भूमिकामा पूर्ण न्याय गरेका छन्। उनीबाहेक अरुले मेरो भूमिका गर्न सक्दैन्थे,’ उनले ऋतिकको तारिफ गर्दै भने।

उनले आफ्नो बायोपिकको कथा १३ पल्ट पढेको पनि खुलासा गरे। ऋतिकले आफ्नो भूमिकामा ढल्न आफूसँग दैनिक कुराकानी गर्ने गरेको पनि उनले बताए। ‘पटनाका स्थानीय ब्यक्तिहरूसँग म कसरी भेट्छु, उनीहरूसँग कसरी कुरा गर्छु, त्यसको तयारीका लागि ऋतिक सरले १ सय ५० घन्टा भिडियोमा रिहर्सल गर्नु भएको थियो’, उनले भने। ऋतिक अभिनित फिल्म १२ जुलाईमा प्रदर्शन हुने बताइएको छ। फिल्मको निर्देशन विकाश बहलले गरेका छन्।

 

प्रकाशित मिति: : 2019-07-11 17:05:47

प्रतिकृया दिनुहोस्