बलिउड अभिनेता सन्नी देओल भाजपा प्रवेश, पञ्जाबबाट उम्मेद्वार

तस्बिरः एजेन्सी

बलिउड अभिनेता सन्नी देओल भाजपा प्रवेश गरेका छन्।

भारतमा जारी लोकसभा चुनावकै क्रममा मंगलबार देओल औपचारिकरूपमा भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका हुन्।

दिल्लीमा आयोजित एक कार्यक्रममा संघीय रक्षामन्त्री निर्मला सीतारमन र रेलमन्त्री पियुष गोयलले उनलाई पार्टी भित्र्याएका थिए।

उनलाई सदस्यता दिने क्रममा मन्त्री गोयलले देओलबाट युवालाई प्रेरणा दिने काम हुने अपेक्षा गरे।

‘उनले आफ्ना हरेक फिल्ममा सुरक्षा निकायको मनोबल बढाए। जस्तोसुकै तनाव र टेन्सन भएको समयमा पनि देशका युवायुवतीलाई प्रेरणा दिने काम देओलले फिल्मका माध्यमबाट गरे। मलाई विश्वास छ, राजनीतिक जीवनमा पनि यस्तै प्रेरणादायी काम गर्नेछन्,’ गोयलले भने।

कार्यक्रममा बोल्दै सनी देओलले मोदीको पार्टीमा सहभागी हुन पाउँदा गर्वको महशुस गरेको बताए।

‘जुन तरिकाले मेरो बुबा यो परिवारसँग, अटलजीको साथ जोडिनु भयो, त्यसैगरी आज म मोदीजीसँग जोडिने अवसर पाएँ।उनले देशका लागि धेरै काम गरे। म पनि चाहन्छु हामीजस्ता युवाले मोदीलाई साथ दिनुपर्छ। र युवाको आवश्यकता पनि छ,’ उनले भने।

यसैबीच पार्टीले उनलाई पञ्जाबको गुर्दासपुर निर्वाचन क्षेत्रबाट चुनाव लडाउने सम्भावना छ। भाजपाले पञ्जाब–अमृतसर, गुर्दासपुर र होसियारपुरमा उम्मेदवार घोषणा गरेको छैन।

यहाँबाट पहिले पनि अभिनेता विनोद खन्नाले चुनाव लडेका थिए। तर उनको मृत्युपछि सन् २०१७ मा भएको उपनिर्वाचनमा कांग्रेसका सुनिल जाखड विजयी भएका थिए।

सनी देओलका बुबा अभिनेता धर्मेन्द्र सन् २००४ देखि सन् २००९ सम्म राजस्थानको बिकानेरबाट भाजपाका सांसद भएका थिए। उनकी पत्नी हेमा मालिनी मथुराबाट सांसद भइन्। र अहिले फेरि त्यहीँबाट चुनाव लडेकी छन्।

धर्मेन्द्र हालै हेमा मालिनीको चुनाव प्रचारका लागि मथुरासमेत पुगेका थिए।

सनी देओल आफ्नो समयमा बलिउडका लोकप्रिय अभिनेता थिए। उनी एक्शन हिरोका रूपमा परिचित थिए।

उनले सन् १९८२ मा फिल्म 'बेताब' बाट आफ्नो फिल्मी करियर शुरू गरेका थिए। सन् १९९० मा फिल्म 'घायल' ले उनको लोकप्रियता एकाएक चुलियो। दामिनी, गदर, हिरो, अपने उनका प्रमुख फिल्महरू हुन्।

देओलले गत शुक्रबार पुनेमा भाजपा अध्यक्ष अमित शाहसित भेट गरेका थिए। त्यस भेटमा उनले आफूलाई चुनावमा उठाउन आग्रह गरेका थिए। शाह सहमत भएपछि देओल पार्टी प्रवेश गरेको भारतीय मिडियाले जनाएका छन्।

पञ्जावको लोकसभा चुनावमा भाजपाले शिरोमणि एकाली दलसँग गठवन्धन गरेको छ।

 

प्रकाशित मिति: : 2019-04-23 13:07:04

प्रतिकृया दिनुहोस्