नेपालको पहिलो कलात्मक पौडी पोखरी (भिडियो)

बिएल

पछिल्लो समय नेपालमा थुप्रै पौडी पोखरी निर्माण भयो। तर, ती सबै परम्परागत थिए। काठमाडौंमा डिसेम्बर १ देखि सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पूर्व सन्ध्यामा वीरेन्द्र अन्तर्राष्ट्रिय खेल परिषरमा नयाँ पौडी पोखरी निर्माण भएको छ। जुन आधुनिक मात्र होइन, कलात्मक पनि छ।

१३ औं सागकै लागि सरकारले २०७४ सालदेखि पौडी पोखरी निर्माण कार्य सुरु गरेको थियो। तर, निर्माण कार्य सुरु भएको केही दिनमै सिन्धुली निवासी एक कामदार देवराज सुनुवारले आत्महत्या गरेपछि केही महिनाका लागि काम ठप्प भयो।

यद्यपि पौडी पोखरीको मुख्य भवन २०७५ सालमै सम्पन्न भयो। सातदोबाटोमा निर्माण भएको पौडी पोखरी ‘इलेस्ट्रोमेरिक बियरिङ’ प्रविधिमा बनेको छ। यसको छानाको डिजाइन लाजिम्पाटस्थित जोन स्यान्डी प्रालीले गरेको हो। र, सम्पूर्ण ‘फेब्रिक’ को काम नेपालमै भएको हो।

२५ मिटरको सर्टकोर्ष भएपनि पौडी पोखरीलाई फिना (अन्तर्राष्ट्रिय पौडी महासंघ) ले मान्यता प्रदान गरेको छ। यो इन्डोर हिटिङ कर्भड पुल हो। जुन नेपालमा पहिलो पल्ट निर्माण भएको छ।

छाना घुमरिएको कारणले पोखरीको सुन्दरता थप देखिन्छ। विकोई किरातेश्वर महालक्ष्मी जेवीले पौडी पोखरीको ठेक्का २२ करोड ३० लाखमा प्राप्त गरेको थियो। पौडी पोखरीमा ९ लाख ७५ हजार लिटर पानी जम्मा हुने राष्ट्रिय खेलकुद परिषद्का इन्जिनियर सविन महर्जन बताउँछन्।

इन्डोर हिटिङ कर्भड हलमा उपयोग भएको सामाग्री चीन, स्पेन, बेलायत र अमेरिकाबाट आयात गरिएको छ।

प्रकाशित मिति: : 2019-11-30 11:30:10

प्रतिकृया दिनुहोस्