पूर्व बक्सिङ खेलाडी सिद्धार्थ विक्रम भण्डारी क्षेत्र सम्मानीत भएका छन्। नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठ र महासचिव दीपक गुरुङले नेपाली खेलाडीलाई निरन्तर सहयोग गर्दै आएका भण्डारीलाई सम्मान गरेका हु्न्। बेलायतमा बस्दै आएका भण्डारीले नेपाली खेलाडी बिरामी पर्दा, समस्यामा पर्दा आर्थिक सहयोग प्रदान गर्दै आएका थिए। उनले नेपालका युवा बक्सिङ खेलाडीलाई बेलायतमा ३ देखि ६ महिना प्रशिक्षणका लागि व्यवस्था मिलाउन पहल गरेको बताए।
सो सम्मान कार्यक्रममा राजीव श्रेष्ठ र दीपक गुरुङले खेलाडीलाई गाह्रो सारो पर्दा सहयोग गर्ने हेतुले अक्षय कोष स्थापना गर्ने घोषणा समेत गरे। सो कोषमा श्रेष्ठ र गुरुङले १–१ लाख रुपैयाँ राख्ने घोषणा समेत गरे। सम्मानीत भण्डारीले समेत कोषमा १ लाख राख्ने घोषणा गरेका थिए।
सम्मान कार्यक्रमलाई राखेपका सदस्य अर्जुनबहादुर केसी, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष सुनिल श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन उमेश मास्केलगायतले भण्डारीको कार्यको प्रशंसा गरेका थिए।