४७ वर्षपछि इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको एसेज सिरिज ‘ड्र’,

Photo Credit : आईसीसी

काठमाडौं । अन्तिम टेष्ट क्रिकेटमा इंग्ल्यान्डले अष्ट्रेलियालाई १३५ रनले पराजित गरेसँगै पाँच खेलको एसेज सिरिज २-२ को बराबरीमा सकिएको छ ।

लण्डनमा भएको अन्तिम टेष्ट खेलमा घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियालाई सहज रुपमा पराजित गर्न सफल भयो । अष्ट्रेलियाले ३९९ रनको चुनौती पाएको थियो । तर अष्ट्रेलियाले सबै विकेटको क्षतिमा २६३ रन मात्रै बनाउन सकेपछि सिरिज बराबरीमा टुंग्याएको हो ।

अष्ट्रेलियाका लागि माथेव वाडले ११७ रन बनाएपनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । यसअघि अष्ट्रेलियाले आफ्नो पहिलो पारीमा २२५ रन बनाएको थियो । पहिलो पारीमा स्टेभ स्मिथले ८० रन बनाएका थिए । इंग्ल्यान्डका जोफ्रा आर्चरले ६ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो पारीमा २९४ रन बनाएको थियो । त्यस्तै, दोस्रो पारीमा ३२९ रन बनाएपछि इंग्ल्यान्डले अष्ट्रेलियालाई ३९९ रनको लक्ष्य दिएको थियो ।

समग्र खेलमा अस्ट्रेलियाका खेलाडीको दबदबा

समग्र खेलमा अस्ट्रेलियाका खेलाडीको दबदबा रहेको खेलमा अस्ट्रेलियाका स्टीभ स्मिथले ७७४ रन बनाए । आईसीसीको टेस्ट ब्याट्सम्यानतर्फको बरियतामा ५औं स्थानमा रहेका स्मीथ यसै खेलबाट पहिलो स्थानमा उक्लिन सफल भए। स्मीथले यस सिरिजमा ११०.५७ औसत रन बनाए ।

यता उनलाई पछ्याएका इङ्ल्यान्डका बेन स्टोक्सले ४४१ रन बनाए । स्टोक्सले दुई शतक र ३ अर्धशतक बनाए । उत्कृष्ट ५ खेलाडीभित्र अस्ट्रेलियाका ३ खेलाडी रहन सफल भए ।

इङ्ल्यान्ड र अस्ट्रेलियाबीचको टेस्ट सिरिज ४७ वर्षपछि बराबरीमा सकिएको हो । यसअघि सन १९७२ मा इङ्ल्याण्डमा भएको टेस्ट सिरिज बराबरीमा टुंगिएको थियो । त्यतिबेला पनि ५ टेस्टको सिरिजमा पहिलो र चौथो खेल इङ्ल्यान्डले जितेको थियो । दोस्रो र पाँचौ खेल अस्ट्रेलियाले जित्दा तेस्रो टेस्ट बराबरी भएको थियो।

प्रकाशित मिति: : 2019-09-16 13:10:25

प्रतिकृया दिनुहोस्