१०७ रनको लक्ष्य पछ्याएको बंगलादेश रोमाञ्चक खेलमा ५ रनले पराजित, यु-१९ एसिया कपको उपाधि भारतलाई

तस्बिरः बिएल

५० ओभरमा मात्र १०७ रनको लक्ष्य पछ्याउन नसक्दा बंगालदेशले पहिलो पटक अन्डर-१९ एसिया कप जित्ने मौका गुमाएको छ।

श्रीलंकामा शनिबार सम्पन्न फाइनलमा भारतले दिएको १०७ रनको लक्ष्य पछ्याएको बंगलादेश मात्र १०१ रनमा समेटियो।

आर प्रेमदासा स्टेडियममा सम्पन्न फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरको खेलमा ३२.४ ओभरमा अलआउट हुँदै १०६ रन बनाएको थियो। १०७ रनको जवाफी ब्याटिङ गरेको बंगलादेश ३२.६ ओभरमा अलआउट हुँदै १०१ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा खराब सुरूवात गरेको बंगलादेशलेशीर्ष स्थानका ५ ब्याट्सम्यानलाई दोहोरो अंकमा रन नबनाउँदै गुमायो। ५१ रन हुँदै पहिलो ६ विकेट गुमाएको बंगलादेशले बाँकी ५० रन बनाउँदा सबै विकेट गुमायो।

छैठौं नम्बरमा ब्याटिंग गरेका कप्तान मोहम्मद अकबर अलि र आठौँ नम्बरका मोहम्मद मृत्युन्जोयले सातौँ विकेटको लागि साझेदारी गर्दै टिमलाई जिततर्फ लैजाने प्रयास गरे। अलि २३ रन तथा मृत्युन्जय २१ रन बनाएर आउट भए पछि बंगलादेश ७८/८ को स्थितिमा पुग्यो।

नवौं विकेटको लागि तन्जिम हसन र रकिबुल हसनले २३ रनको साझेदारी गर्दा बंगलादेश जित नजिक पुग्यो। जितको लागि मात्र ६ रन बाँकि हुँदा तन्जिम हसन ११ रन बनाएर आउट भए। अथर्भ अन्कोलेकरले त्यसै ओभरको अन्तिम बलमा अलोमलाई बोल्ड गर्दै भारतलाई खेल जिताए।

उत्कृष्ट बलिङ गरेका अथर्भ अन्कोलेकरले ५ विकेट लिए जुन क्रममा ८ ओभरमा २ मेडन ओभर गर्दै २८ रन खर्चिए।

टस जितेर ब्याटिङ गर्ने क्रममा भारतले सुरुवातदेखि लगातार विकेट गुमाउन पुगेको थियो। आठौं नम्बरमा ब्याटिङ गरेका कारन लालले सर्वाधिक ३७ , कप्तान ध्रुभ चन्द जुरेलले ३३ तथा शास्वत रावतले १९ रन बनाउनु बाहेक अन्य भारतीय ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

३२.४ ओभरमा भारतलाई अल आउट गर्न बंगलादेश बलर मोहम्मद शमिम होसेन र मोहम्मद मृत्युन्जोयले ३/३ विकेट लिएका थिए।

लगातार दोस्रोपटक उपाधि जितेको भारतले ८ वटा एसिया कपमध्येसातौं उपाधि हात पारेको हो।

सन् २०१२ को संस्करणमा भारत र पाकिस्तान बीचको खेल बराबरी हुँदा उपाधि बाँड्नु परेको थियो भने २०१७ को उपाधि अफगानिस्तानले जितेको थियो।

बंगलादेश पहिलो पटक यु-१९ एसिया कपको फाइनल पुगेको थियो। प्रतियोगिताको सेमिफाइनलमा भारत र श्रीलंका तथा अफगानिस्तान र बंगलादेश बीचको खेल वर्षाको कारण रद्द हुँदा समुह चरणको प्रदर्शनको आधारमा भारत र बंगलादेश फाइनल प्रवेश गरेका थिए।

प्रतियोगितामा नेपाल भने समूह चरणमा श्रीलंका र बंगलादेशसंग पराजित हुँदै बाहिरिएको थियो। अन्तिम खेलमा नेपालले युएईलाई भने पराजित गरेको थियो।

प्रकाशित मिति: : 2019-09-14 17:16:31

प्रतिकृया दिनुहोस्