नेपाल नादेझ्दा कपको उपविजेतामै सिमित!, साबित्राको कीर्तिमान

तस्बिरः बिएल

नेपाली महिला राष्ट्रिय फुटबल टोली किर्गिस्तानमा जारी नादेझ्दा कपको उपविजेतामै सिमित भएको छ। उपाधि भिडन्तमा बिहिबार नेपाल उज्बेकिस्तानसँग ३-२ ले पराजित भएको हो।

अत्यान्त प्रतिश्पर्धात्मक खेलको ३९ औं मिनेटमा उज्बेकिस्तानले गोल गर्दै खेलमा सुरूवाती अग्रता लिएको थियो।

पहिलो हाफमा १-० को अग्रता लिएको उज्बेकिस्तानले दोस्रो हाफको सुरूवातमै अग्रता अझै दोब्बर पार्‍यो।

नेपाली डिफेन्स पोजिसनमा नरहेको फाइदा उठाउँदै उज्बेकिस्तानले ५४ औं मिनेटमा अग्रता दोब्बर पारेको हो। खेलको ६४ औं मिनेटमा फेरि उज्बेकिस्तानले गोल गर्दै नेपालमाथि एक छत्र दबाब बनायो।

तर त्यसको तीन मिनेट पछिनै नेपालका लागि सावित्रा भण्डारीले गोल फर्काउँदै नेपाललाई खेलमा फर्काइन्। सरू लिम्बु र सावित्राबीच उत्कृष्ट वन-टु पासमा पेनाल्टी क्षेत्रभित्रबाट उनले उत्कृष्ट गोल गरेकी हुन्।

खेलको ८६ औं मिनेटमा पनि सरूको पासमा सावित्राले गोल गर्ने राम्रो अवसर गुमाइन्। तर इन्ज्युरी समयको पहिलो मिनेटमा सावित्राले पेनाल्टीमा गोल गर्दै नेपाललाई खेलमा फर्काइन्।

अनिता बस्नेतको प्रहारले उज्बेकी डिफेन्डरको हातमा लागेपछि नेपालले पेनाल्टीको मौका पाएको थियो।

त्यसपछि थप समयमा नेपालले गोल गर्न नसक्दा नेपाल ३-२ ले खेल हार्दै उपविजेतामा सिमित भयो।

यो सँगै नेपाल आठौं पटक फाइनलमा पुगेर उपाधिविहिन भएको हो। यसअघि ६ पटक भारत र १ पटक म्यानमारसँग नेपाल फाइनलमा पराजित भएको थियो।

पछिल्लोपटक नेपाल विराटनगरमा आयोजित साफ च्याम्पियनसिपमा भारतसँग फाइनलमा पराजित भएको थियो।

साबित्राको सर्वाधिक गोल

प्रतियोगितामा सर्वाधिक गोलकर्ता साबित्रा भण्डारी

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएकी छन्।

नादेझ्दा कपको फाइनलमा उज्बेकिस्तानविरुद्ध २ गोल गरेकी सावित्राले अनु लामाको ३५ गोलको कीर्तिमानलाई बराबरी गरेकी हुन्।

सावित्राले राष्ट्रिय टोलीका लागि ३७ खेल खेल्दै ३५ गोल गरेकी छिन्।

किर्गीस्तानमा जारी नादेझ्दा कपमा ७ गोल गरेकी साबित्राले पहिलो खेलमा आयोजकविरुद्ध ४ गोल गरेकी थिइन्। त्यसपछि समूहको अन्तिम खेलमा ताजिकिस्तानविरुद्ध विजयी गोल गरेकी सावित्राले फाइनलमा २ गोल गरेकी हुन्।

साबित्राको गोलहरू

सन् २०१४, साफ च्याम्पियनसिप विरूद्ध भुटान-१ गोल
सन् २०१६, दक्षिण एसियाली खेलकुद, विरूद्ध श्रीलंका- २ गोल
सन् २०१६ मैत्रीपूर्ण खेल, विरूद्ध मलेसिया- १ गोल
सन् २०१६ साफ च्याम्पियनसिप, विरूद्ध भुटान- ६ गोल
सन् २०१६ साफ च्याम्पियनसिप, विरूद्ध माल्दिभ्स - ५ गोल
सन् २०१६ साफ च्याम्पियनसिप, विरूद्ध भारत - १ गोल
सन् २०१७ ओलम्पिक छनोट, विरूद्ध म्यानमार- १ गोल
सन् २०१८ हिरो गोल्डकप, विरूद्ध भारत- २ गोल
सन् २०१८ हिरो गोल्डकप, विरूद्ध इरान- २ गोल
सन् २०१९ साफ च्याम्पियनसिप, विरूद्ध भुटान- १ गोल
सन् २०१९ साफ च्याम्पियनसिप, विरूद्ध बंगलादेश- १ गोल
सन् २०१९ साफ च्याम्पियनसिप, विरूद्ध श्रीलंका- १ गोल
सन् २०१९ साफ च्याम्पियनसिप, विरूद्ध भारत- १ गोल
सन् २०१९ ओलम्पिक छनोट, विरूद्ध इन्डोनेसिया- २ गोल
सन् २०१९ नादेझ्दा कप, विरूद्ध कीर्गिस्तान- ४ गोल
सन् २०१९ नादेझ्दा कप, विरूद्ध ताजकिस्तान- १ गोल
सन् २०१९ नादेझ्दा कप, विरूद्ध उज्वेकिस्तान- २ गोल

प्रकाशित मिति: : 2019-09-12 18:31:36

प्रतिकृया दिनुहोस्