अबहानीसँग मनाङको फराकिलो हार, एएफसी कपबाट बाहिरियो

मनाङको टोली

काठमाडौं । एएफसी कप फुटबलमा नेपालको प्रतिनिधित्व गरेको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब बंगलादेशी क्लब ढाका अबहानी लिमिटेडसँग लज्जास्पद हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ।

ढाकास्थित बंगबन्धु रंगशालामा बुधबार भएको खेलमा मनाङ अबहानीसँग ५-० गोल अन्तरले पराजित भएको हो। यो हारसँगै मनाङ एएफसी कपबाट बाहिरिएको हो।

अबहानीको जितमा नाबिब निवाज जीबोन, केर्भिन्स बेल्फोर्ड,जिवेल राना, सन्डे चिजोबा र होसेन बादसाहले एक-एक गोल गरेका थिए।

पहिलो हाफमा २-० ले अघि रहेको घरेलु टोलीले दोस्रो हाफमा थप तीन गोल थप्यो।

अबहानीले खेलको ११ औं मिनेटमा जीबोनको गोलबाट सुरूवाती अग्रता बनाएको थियो। ४५ औं मिनेटमा बेल्फोर्डले गोल गर्दै अबहानीलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए। 

दोस्रो हाफमा थप आक्रमक खेल खेलेको घरेलु टोलीले खेलको ६३ औं मिनेटमा अग्रता तेब्बर पार्‍यो। उसका लागि जिवेलले गोल गर्दै अबहानीलाई ३-० को अग्रता दिलाए।

खेलको ७६ औं मिनेटमा सन्डेले गोल गर्दै अबहानी खेलमा ४-० ले अघि रह्यो। त्यसपछि खेलको इन्जुरी समयमा होसेनले गोल गर्दै अबहानीलाई ५-० को फराकिलो जित दिलाए।

खेल अवधिभर बल पोजिसनमा पकड जमाए पनि मनाङले कुनै पनि मुभ बनाउन सकेन।

यसअघि गत अप्रिलमा काठमाडौंमा भएको होम खेलमा मनाङ अबहानीसँग १-० ले पराजित भएको थियो।

यो हारसँगै समूह 'ई' मा रहेको मनाङले ५  खेलमा २ अंक जोड्दै समूहको पुछारमा छ। यता मनाङलाई सहजै हराएको अबहानी ५  खेलबाट १० अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

यस समूहमा चेन्नायीन एफसी ८ अंक जोडेर दोस्रो र मिनर्वा पन्जाब ५ अंक जोडेर तेस्रो स्थानमा छन्।

प्रकाशित मिति: : 2019-06-20 00:03:33

प्रतिकृया दिनुहोस्