ओलम्पियन खेलाडी फुपुलामु खत्रीलाई अनुशाषनको कारण देखाउँदै नेपाल जुडो संघले प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको छ।
जापानमा प्रशिक्षणरत फुपु कसैलाई जानकारी नदिई बीचैमा प्रशिक्षण परित्याग गरि नेपाल फर्किएकी थिइन। उनको यो कार्यले जापान र नेपाल जुडोको सम्बन्ध चिसिएको भन्दै संघले अर्को निर्णय नहुँदासम्म उनलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
उनी जापानी पदाधिकारीलाई पनि जानकारी नदिइ नेपाल फर्किएकी थिइन। संघका अध्यक्ष दीपकहर्ष बज्रचार्यका अनुसार फुपुको यस कार्यले मर्माहत भएको जापानी ओलम्पिक कमिटीले उक्त प्रशिक्षण कार्य बन्द गरेको छ। फुपुले २०१६ को रियो ओलम्पिकमा भाग लिएकी थिइन।
संघले प्रशिक्षक रमेश मगरलाई पनि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। हंगेरीमा यसै बर्षको १४ अप्रिलमा ११ हप्ते सैद्धान्तिक परीक्षामा भाग लिन गएका मगर उतै लुकेर बसेका थिए।
संघले उनको यो कार्यले नेपाली जुडोमा आँच पुर्याएको भन्दै १० वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको छ।