मेस्सी निरिह, बार्सा स्तव्ध: लिभरपुलको अविश्वसनीय पुनरागमन

स्पेनिस महारथि बार्सिलोनालाई धुलो चटाउँदै लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ।पहिलो लेगमा बार्सासँग ३-० ले पछि परेको लिभरपुलले दोस्रो लेगमा ४-०को  चमत्कारपूर्ण जित निकाल्दै समग्रमा ४- ३ को जीतसहित फाइनलमा प्रवेश गरेको हो।

लिभरपुलको जितमा डिभोक ओरीगी र जर्जिनियो विजनाल्डमले दुई-दुई गोल गरे।ओरिगीले सातौं मिनेटमा खाता खोले।दोस्रो गोल उनले ७९ औं मिनेटमा गरेका थिए । विजनाल्डमल ५४ औं र ५६ औं मिनेटमा लगातार दुई गोल गरे ।

घरेलु मैदानमा अविश्वसनीय पुनरागमन गर्दै लिभरपुल लगातार दोस्रो पटक फाइनलमा पुगेको हो ।गत सिजनमा लिभरपुल फाइनमा रियल मड्रिडसँग पराजित भएको थियो ।यसपटक डिफेन्डिङ च्याम्पियन रियल मड्रिड अन्तिम आठमा पनि पुग्न सकेन।

घरेलु मैदानमा शानदार प्रदर्शन गरेको लिभरपुलसामु बार्सिलोना निरिह बनेको थियो।स्टार खेलाडीले भरिएको बार्सिलोनालाई पहिलो लेगको फराकिलो जित कुनै काम लागेन।एक गोल पनि फर्काउन नसक्दा बार्सिलोना लज्जास्पद हार खेप्दै घर फर्कन बाध्य भयो।पहिलो लेगमा दुई गोल गरेका कप्तान लियोनल मेस्सी र एक गोल गरेका लुइस स्वारेज फिका देखिए।अन्य खेलाडीले पनि जादु चलाउन सकेनन् ।

लिभरपुलले आफ्ना मुख्य हतियार मोहमद सलाह र रोवर्टो फिर्मिन्होबिनै बार्सिलोनालाई धुलो चटायो। सलाह र रोवर्टो चोटका कारण खेल्न सकेका थिएनन् । अब फाइनलमा लिभरपुलले डच टोली आयाक्स र इङ्लिस प्रतिद्वन्द्वी टोट्टनहामबीचको विजेतासँग खेल्नेछ । यी दुई टोलीबीच सेमिफाइनल खेलको दोस्रो लेग बुधबार हुँदैछ ।

 

प्रकाशित मिति: : 2019-05-08 08:21:24

प्रतिकृया दिनुहोस्