कर्णाली प्रिमियर लिग: कर्णाली सेमिफाइनलमा, अर्को खेलमा महेन्द्रनगर विजयी

तस्बिरः बिएल

सुर्खेतमा जारी कर्णाली प्रिमियर लिगअन्तर्गत पाँचौ दिनका दुई खेलमा महेन्द्रनगर क्रिकेट क्लब र कर्णाली–११ विजयी भएका छन्।

महेन्द्रनगरले हिमालयन क्रिकेट एकेडेमी र कर्णाली–११ ले त्रिभुवन आर्मी क्लबलाई हराएका हुन्।

लगातार तेस्रोजितसहितआयोजक कर्णाली–११ समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेको छ।

सेमिफाइनल पुग्ने थप ३ टिमको टुंगो लाग्नै बाँकि छ।

सोमबार सम्पन्न पहिलो खेलमा महेन्द्रनगरले हिमालयन क्रिकेट एकेडेमीलाई ५ रनले पराजित गरेको हो। खेलमा टस जितेर ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनाएको थियो । १५२ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको हिमालयनले २० ओभरमा ७ विकेट गुमाएर १४६ रन मात्र जोड्न सक्यो।

हिमालयनका लागि पदम केसीले ५० तथा दिपेन्द्र ऐरीले अविजित २९ रन जोडेपनि जितका लागि पर्याप्त भएन।

महेन्द्रनगरको बलिंगतर्फ बिक्रम ठगुन्ना र आकाश चन्दले समान २–२ विकेट हात पारे ।

दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई आयोजक कर्णाली–११ ले ११ रनले हराउँदै सेमिफाइल स्थान पक्का गर्‍यो।

टस जितेर ब्याटिङ रोजेको कर्णाली–११ ले २० ओभरमा ७ विकेट गुमाएर १५६ रनको योगफल तयार गरेको थियो। उसको लागि लोकेस बमले सर्वाधिक ५० रन बनाए । ३० बलमा उनले ६ चौका र २ छक्का प्रहार गरे । यस्तै प्रदिप रसाइलीले ३४, जितेन्द्र सिंह ठकुरीले ३० तथा कप्तान रबिन्द्र जंग शाहीले २३ रन योगदान दिए ।

प्रकाशित मिति: : 2019-04-29 21:41:23

प्रतिकृया दिनुहोस्