मुम्बईलाई हराउँदा कोककत्ताको प्लेअफ सम्भावना जिवितै

तस्बिरः एजेन्सी

कोलकत्ता नाइट राईडर्स भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को पाँचौ स्थानमा उक्लिएको छ।

आइतबार घरेलु मैदानमा भएको खेलमा कोलकत्ताले मुम्बईलाई ३४ रनले हराउँदै प्लेअफ सम्भावना जिवितै राखेको हो।

इडेन गार्डेन्समा कोलकत्ताले दिएको २३३ रनको फराकिलो लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १९८ रन मात्र बनाउन सक्यो।

मुम्बईका लागि हार्दिक पाण्डयाले बिष्फोटक ब्याटिङ गर्दै ९१ रनको अर्धशतकीय इनिङस खेले पनि टोलीको हार टार्न सकेनन्। यस्तै मुम्बईका लागि सूर्यकुमार यादवले २६ तथा कुर्नाल पाण्डयाले २४ रन बनाए।

कोलकत्ताका सुनिल नारिने, ह्यारी गुर्ने र आन्द्रे रसेलले २/२ विकेट लिए ।

कोलकतालाई विशाल योगफल बनाउन आन्द्रे रसेलले विश्फोटक ब्याटिङ गर्दै मैदानमा चौका र छक्काको वर्षा गराए । रसेलले ४० बलमा ६ चौका र ८ छक्का प्रहार गर्दै ८० रनमा अविजित रहे ।

कोलकताका लागि युवा खेलाडी सुभमन गिलले पनि उत्कृष्ट अर्ध शतक प्रहार गरे । १६ ओभरको दोस्रो बलमा हार्दिक पान्ड्याले इभिन लुईसबाट क्याच गराउनु अघि गिलले ४५ बलमा ४ छक्का र ६ चौका सहित ७६ रनको महत्वपूर्ण योगदान दिए ।

त्यस्तै क्रिस लिनले मात्र २९ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ५४ रनमा क्याच आउट भए । गिल र लिनले ९.३ ओभरमा पहिलो विकेटका लागि ९६ रनको साझेदारी गर्दै कोलकतालाई विशाल लक्ष्य तर्फ लम्काएका थिए ।

त्यस्तै कप्तान दिनेश कार्तिक १५ रनमा अविजित रहे । मुम्बईका राहुल चाहर र हार्दिक पान्ड्याले समान १ विकेट लिए

यो जितसंगै कोलकत्ताले १२ खेलबाट १० अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ।

पराजित मुम्बई १२ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा छ। यो हारसँगै मुम्बईलाई प्ले अफ पुग्न अझै एक जित आवश्यक रहन्छ।

यसअघि आजै भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंलोरलाई १६ रनले हराउँदै दिल्ली क्यापिटल्स प्लेअफमा पुगिसकेको छ।

प्रकाशित मिति: : 2019-04-29 00:13:56

प्रतिकृया दिनुहोस्