जब ओलम्पिक भिलेजमा रगतको खोला बग्यो

तस्बिरः बिएल

 ती दिन 

सन् १९७२ को म्युनिख ओलम्पिकमा भाग लिन जर्मनी लाग्नुअघि नेपाली म्याराथन धावक जीतबहादुर केसी निकै उत्साही थिए। यसको कारण थियो, उनी ओलम्पिक सुरू हुनुभन्दा ३ महिनाअघि तयारीका लागि जर्मनी जाँदै थिए।

यद्यपि, यो नै उनको पहिलो विदेश भ्रमण थिएन। सन् १९७० थाइल्यान्डको राजधानी बैंककमा सम्पन्न छैठौं एसियाली खेलमा उनले देशको प्रतिनिधित्व गर्ने मौका पाइसकेका थिए।

बैककमा उनको प्रदर्शन राम्रो हुन सकेन। सातौ स्थानमा रहँदै दौड पुरा गरेका थिए। श्रीलंकाका रेजा नाम गरेका धावकले २ घण्टा ३० मिनेटमा दौड पुरा गरेर सवैलाई मात दिएका थिए।

तर, राष्ट्रियस्तरको प्रतियोगितामा जीतबहादुरलाई पराजित गर्ने कोही निस्किएनन्। यसपछि परिषद्का तत्कालिन सदस्य–सचिव कुमार खड्गविक्रम शाहले म्युनिख ओलम्पिकमा उनलाई नै पठाउने निधो गरे। तर, यसपालि कुमार खड्गविक्रम आफ्नो खेलाडीलाई व्यवस्थित अभ्यास गराएर मात्र ओलम्पिकमा उतार्न चाहन्थे।

अभ्यासको तीन महिना जीतबहादुरले बडो रमाइलोसँग बिताए। खाना र पैसा केहीको मतलब थिएन। सबै चाँजोपाँजो कुमार खड्गविक्रमले मिलाएका थिए। जर्मनीको आधुनिक अभ्यासले जीतबहादुरको खेलमा निकै सुधार आइसकेको थियो।

तीन महिनाको अवधिमा उनी म्युनिखको हवापानी र माटोसँग पनि अभ्यस्त भइसकेका थिए।

फेरि ओलम्पिकअगाडि म्युनिखको कोलन भन्ने ठाउँमा म्याराथनको एउटा छनोट खेल भएको थियो, एसिया महाद्धीपका खेलाडीहरुलाई संलग्न गराएर। नेपालबाट जीतबहादुर सँगै भक्तबहादुर सापकोटा पनि सहभागी भए। भक्तबहादुर पनि ट्रेनिङका लागि उनी सँगै अगाडि नै म्युनिख पुगेका थिए।

नेपाल सँगै त्यो छनोटमा भारत, बर्मा, श्रीलंका, इन्डोनेसिया, थाइल्यान्ड, पाकिस्तान, बंगलादेश, सिङ्गापुर र दक्षिण कोरियाली धावक सहभागी थिए। श्रीलंकाबाट उनै रेजा म्युनिख पुगेका थिए।

यतिबेला जीतबहादुरले दौड २ घण्टा २३ मिनेटमा पुरा गरे र बैंकक एसियाडमा रेजाले दौडिएको ‘टाइमिङ’ लाई पछाडि छोडे। दौडमा पहिलो भए।

यो प्रदर्शनले रेजा मात्र होइन। अन्य देशका धावक पनि सशङ्कित भए, जीतबहादुर सँग। किनभने, उनले दौड पुरा गरेको समय त्यतिबेला ओलम्पिकमा पदक जित्न पर्याप्त मानिन्थ्यो।

त्यसैले बीबीसीजस्तो प्रख्यात सञ्चारमाध्यमले ओलम्पिकको विशेष समाचार प्रस्तुत गर्दा म्याराथनमा एसिया महाद्धीपले एउटा पदक जित्ने भविष्यवाणी गरेको थियो, त्यो पनि जीतबहादुरले कास्य जित्ने ठोकुवा गर्दै।

‘स्थानीय पत्रपत्रिकाले पनि मैले पदक जित्छु भन्ने दावी गरेका थिए। म उतिबेला दंग थिएँ,’ ७१ वर्षीय यी म्याराथन धावकले ब्रेकिनलिंक्ससँग भने।

म्युनिख ओलम्पिक सुरु भयो, २६ अगस्टमा। नेपालबाट कुमार खड्गविक्रम, शोभा शाही, शारदाविक्रम शाह र लक्ष्मणविक्रम शाह म्युनिख पुगेका थिए। सवैलाई म्युनिखको भब्य ओलम्पिक भिलेजमा बस्ने व्यवस्था गरिएको थियो। निकै विशाल थियो, त्यो भिलेज। १२ हजार मान्छे अटाउने क्षमताको।

चारैतिर कडा सुरक्षा व्यवस्था। भिलेजलाई वरिपरि ६ फिट ६ इन्च अग्लो मोटो काँडेतारले घेरिएको थियो।

कोठामा के खाने?

सवैको व्यवस्था थियो। दुध पिउने कि जुस। ५–६ वटा त धारा नै थियो। अझ भुइँतलामा खेल्ने सुविधा पनि थियो। चौबीसै घण्टा अभ्यासमा व्यस्त रहन्थे खेलाडीहरू।

नेपाली खेलाडी बसेको ठीकअगाडि अपार्टमेन्टमा इजरायलका ११ खेलाडी बस्थे। नेपाली टोली र इजरायली टोलीको अपार्टमेन्टलाई ४ फिटको साँघुरो बाटोले छुट्याएको थियो।

खेलको तनावले होला, ओलम्पिक सुरू भएको दसौं दिनको राती जीतबहादुरलाई निन्द्रा लागेन। तीन दिनपछि उनको खेल हुँदैथियो। उनी निदाउन हरसम्भव प्रयास गरिरहेका थिए।

तर, निन्द्रा उनको आँखामा थिएन। त्यसैले उनी दुई ग्लास दुध लिएर ओछ्यानमा पल्टिने प्रयास के गर्दैथिए, राती १ बजे कोठै उचालिने गरी एक्कासी ठूलो आवाज उनको कानमा पड्कियो।

ड्वाङ्ग...।

केही बेरमा फेरि त्यस्तै अर्को ठूलो आवाज कानमा पड्कियो।

ड्वाङ्ग...।

‘भूईतलामा रातभरि खेलाडीहरू अभ्यास गर्थे। त्यसैले मलाई लाग्यो, तल धेरै खेलाडी अभ्यासमा व्यस्त होलान्,’ ४६ बर्ष अगाडिको घटना उनी सम्झन्छन्–‘त्यसैले मैले त्यति ठूलो आवाज सुन्दा पनि वास्ता गरिनँ। न आफ्नो झ्यालको पर्दा उघारें, न ढोका खोल्ने आवश्यकता महसुस गरें।’

खेलबारे सोच्दासोच्दै कतिखेर आँखा लागेछ, उनले पत्तै पाएनन्।

तर, बिहान ४ बजे शारदाविक्रम हत्तारिदैं जब जीतबहादुरको कोठामा पसे।

शारदाविक्रमको कुरा सुनेपछि जीतबहादुरको मुटु हल्लियो। ‘उहाँले राती पाँच अरेबियालीले इजरायली खेलाडी बसेको अपार्टमेन्टमा घुसेर दुई खेलाडीलाई मारेको र बाँकीलाई बन्दी बनाएको सुनाउनु भयो। म छानाबाट खसेझैं भएँ,’त्यतिबेला मैले आत्तिदैं शारदाविक्रमलाई उत्तर दिए–‘आवाज आएको त सुनेको हो। मैले मतलबै गरिनछु।’

बल्ल उनले आँखा घुमाए। इजरायली खेलाडी बसेको अपार्टमेन्टको भुइँमा भारत्तोलनका एक खेलाडी र कुस्तीका प्रशिक्षक लडिरहेका थिए। कोठा रगताम्यै थियो। नौ खेलाडी बन्दी अवस्थामा थिए।

यतिबेलासम्म जर्मनीको सुरक्षा अधिकारीले पूरै ओलम्पिक भिलेजलाई घेरा हालिसकेका थिए। भिलेजमै सुरक्षाका लागि खटिएको एकजना जर्मन गार्डलाई जीतबहादुरले लगाउने गरेको पाल्पाली टोपी खुब मन पर्दो रहेछ। ऊ जहिले उनीसँग त्यो टोपी माग्ने गर्दथ्यो। जीतबहादुर भने दिन्छु भनेर जहिले उनलाई अल्मल्याई रहेका हुन्थे।

त्यो दिन ऊ पुरा एक्सनमा बन्दुक तेस्र्याएर उभिएको थियो। उसको पोजिसन देखेर जीतबहादुर झस्किएछन्। यसपछि उनलाई लागेछ, बाहिर निकै गडबड छ।

नभन्दै, केही समयपछि सबै देशका राजदूत र विशिष्ट मान्छे बिस्तारै घटनास्थलमा जम्मा भए। पछि थाहा भयो, अरेबियन भनिएका ती आतङ्ककारी प्यालेस्टाइनी रहेछन्। उनीहरूको माग थियो– इजरायलले बन्दी बनाएको २ सय अरबी बन्दीलाई तत्काल रिहा गर्नुपर्ने।

जीतबहादुर बसेको ४ नम्बरको कोठा इजरायली खेलाडी बन्दी बनाएको कोठाअगाडि थियो।

केही समयपछि आतङ्ककारीको कुरा मिलेछ क्यार। राती ९ बजे हेलिकोप्टर आइपुग्यो, ओलम्पिक भिलेजमा। प्यालेष्टाइनी आतङ्ककारीलाई कायरो जान लुफ्थान्सा एयरपोर्ट उपलब्ध गराउन राजी भएको रहेछ, जर्मनी सरकार।

यिनीहरूले बन्दी बनाएका बाँकी नौ इजरायली खेलाडीलाई पाता फर्काएर बाहिर निकाले। आतङ्ककारीहरूको हातमा ग्रिनेट र बन्दुक प्रस्ट देखिन्थ्यो।

यिनीहरूलाई हेलिकोप्टरबाट एयरपोर्ट पु¥याइयो।

‘घटनाको प्रत्यक्ष प्रसारण टेलिभिजनमा भइरहेको थियो। कोठामा भएको टेलिभिजनबाट सवै घटना नियालिरहेको थिएँ’, उनी भन्छन्।

यसैबीच आतङ्ककारीका एक नाइके साथीहरूलाई बाहिर छोडेर लुफ्थान्सा एयरपोर्टको निरीक्षण गर्न गयो। ऊ फर्किएको मात्र के थियो, एयरपोर्टको बत्ती एक्कासि झ्याप्प निभ्यो।

२ मिनेट बत्ती निभेको मात्र के थियो, गोलीको गडगडाहट सुनियो। पछि थाहा भयो, जर्मन सुरक्षा अधिकारीले सुरूमै योजना बनाएका रहेछन्, सार्पसुटरलाई एयरपोर्ट घेर्न लगाएर।

आतङ्कवादीले बोकेको ग्रिनेटले हेलिकोप्टर पनि उड्यो। यो पुरै प्रकरण सकिन आधा घण्टा मात्र लाग्यो।

तर, यो घटनापछि जीतबहादुरको दिनदशा सुरू भयो। घटनामा संलग्न पाँच आतङ्ककारीमध्ये तीन जनाको लास र नौ इजरायली खेलाडीको लास कुकुरले भेट्टायो।

दुईको अझै अत्तौपत्तो थिएन। ती दुई आतङ्कवादी पुनः ओलम्पिक भिलेज फर्किएको आशङ्का बीच सुरक्षा पदाधिकारीले सवैलाई तुरुन्त भिलेज खाली गर्न आग्रह गरे।

‘त्यत्रो १२ हजार मान्छे। आधा घण्टाभित्र ओलम्पिकको साँघुरो गेटबाट कसरी बाहिर निस्के होला?’ अहिले पनि त्यो घटना सम्झदा छक्क पर्छन, जीतबहादुर।

पछि, दुई जनालाई पनि कुकुरले सुँघेर फेलापार्यो। यी दुवै आतङ्ककारीलाई भिलेजमा फर्काइँदा घाइते अवस्थामा थिए। यिनीहरू फ्याट्ट नमरून् भनेर नदुख्ने दबाइ र खोले ख्वाउने गरिन्थ्यो।

र, सुरक्षाकर्मीहरू सवै खेलाडीलाई भिलेजबाट बाहिर निस्किदा गोलीले रगताम्यै भएका र मर्न लागेका यी दुई आतङ्कवादीलाई हेरे र जाओ भन्थे।

‘मेरो त कोठैनजिक। निकै असहज भयो मलाई,’ उनी भन्छन्।

यो घटनाले ओलम्पिकको खेल तीन दिन बन्द भयो। त्यसपछि कतै ‘ड्याङ्ग’ गरेको आवाज सुनियो कि जीतबहादुर अत्तालिहाल्थे।

घटनाको ६ दिनपछि म्याराथनको ४२ दशमलव १ सय ९५ किलोमिटर दौडमा सहभागी भए, जीतबहादुर।

२१ किलोमिटरको दौडसम्म उनी पहिलो पंक्तीमै थिए। तर, दौडिरहेकै बेला एक्कासि कसैले उनको टाउकोमा हिर्काए जस्तो भयो। उनको खुट्टै चलेन। उनी थचक्कै भूइँमा लडे।

‘यसो हेरेको मेरो देब्रे खुट्टा ‘क्रयाम्प’ पो भएछ। उठ्ने धेरै प्रयास गरे तर सकिनँ,’ उनी सम्झन्छन्–‘भूइँमा लड्दा पनि म आफ्नो कोठाअगाडि लतपतिएको इजरायली खेलाडीको रगत सम्झिरहेको थिए।’

वास्तवमा अहिले पनि जीतबहादुरलाई त्यो घटना सम्झदा नमिठो लाग्छ। यही घटनाका कारण ओलम्पिकमा मेडल जित्ने उनको सपना तुहियो।

तर, उनी मेडल जित्न नसकेपनि त्यति ठूलो घटनामा सकुसल देश फर्किन सफल भएकोमा आफूलाई भाग्यमानी ठान्छन्।

जीतबहादुरले १९७६ फिलिपिन्सको राजधानी मनिलामा आयोजना भएको ट्रयाक एन्ड फिल्ड प्रतियोगितामा म्याराथनतर्फ कास्य पदक जितेका थिए। उनले २ घण्टा ३९ मिनेट ०६ सेकेन्डमा दूरी पुरा गरेका थिए। उनले जितेको पदक अन्तर्राष्ट्रिय प्रतियोगितामा कुनै पनि नेपाली खेलाडीले जितेको पहिलो पदक हो।

प्रकाशित मिति: : 2019-04-28 10:49:06

प्रतिकृया दिनुहोस्