चेन्नईलाई सहजै हराउँदै मुम्बई दोस्रो स्थानमा

तस्बिरः एजेन्सी

चेन्नई सुपर किंग्सलाई सहजै हराउँदै मुम्बई इन्डियन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो स्थानमा उक्लिएको छ।

तालिकाको शीर्ष स्थानमा रहेको चेन्नईलाई ४६ रनले हराउँदै ११ खेलबाट १४ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो। समान १४ अंक भए पनि रनरेटमा दिल्ली क्याटपिटल पछाडि परेको छ।

१ सय ५६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको चेन्नई १७.४ ओभरमा अल आउट हुँदै १ सय ९ रनमा समेटिएको थियो। चेन्नईका ओपनर मुरली विजयले ३८ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् ।

विजयले ३५ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरेका थिए।

मुम्बईको कसिलो बलिङ सामु चेन्नईका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

शेन वाटशन ८, सुरेश रैना २, आम्वाती रायडु शून्य, केदार जाधव ६ रनमा आउट भएपछि चेन्नई संकटमा परेको थियो।

सातौ विकेटका लागि ड्वेन ब्राभो र मिचेल सान्टनरले ३३ रनको साझेदारी गर्दै ६६-६ को अवस्थामा पुगेको चेन्नईलाई केही उकासेका थिए।

ब्राभोले १७ बलमा २ चौका सहित २० रन जोडेर आउट हुँदा दिपक चाहर शून्य, हरभजन सिंह १, इमरान ताहिर शून्य र सान्टनरले २२ रन जोडेका थिए।

मुम्बईलाई सहज जित दिलाउन लाथिस मालिङ्गाले ४ तथा जसप्रित बुमराह र कुनाल पान्ड्याले समान दुई-दुई विकेट लिए। अनुकुल रोए र हार्दिक पान्ड्याले पनि १-१ विकेट हात पारेका थिए।

त्यसअघि चेन्नईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५५ रन बनाएको थियो।

मुम्बईका लागि कप्तान रोहित शर्माले ६७ रन बनाए। ४८ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गर्दै अर्धसतकीय इनिङ्स खेले।

अर्का ओपनर इभिन लुईसले ३२ रन बनाउँदा, क्विन्टन डी कक १५ र कुनाल पान्ड्या १ रनमा आउट भएका थिए।

तल्लोक्रमका हार्दिक पान्ड्या २३ र काइरन पोलार्डले १३ रनमा अविजित रहे।

चेन्नईका मिचेल सान्टनरले २, इमरान ताहिर र दिपक चाहरले समान १-१ विकेट लिए।

निमित कप्तान महेन्द्र सिंह धोनीको अनुपस्थितमा चेन्नईको कप्तानी सुरेश रैनाले सम्हालेका थिए।

प्रकाशित मिति: : 2019-04-27 07:04:24

प्रतिकृया दिनुहोस्