आईपीएल : कोलकत्तालाई हरायो राजस्थानले, प्ले-अफ सम्भावना जिवितै

तस्बिरः एजेन्सी

राजस्थान रोयल्सले भारतमा जारी १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चौथो जित निकालेको छ।

बिहिबार राति कोलकत्ता नाइट राईडर्सलाई ३ विकेटले हराउँदै राजस्थान रोयल्सले चौथो जित निकाल्दै अंक तालिकाको सातौ स्थानमा उक्लिएको छ।

कोलकत्ताले दिएको १७६ रनको लक्ष्य राजस्थानले ४ बल बाँकी छँदै पुरा गरेको हो।

राजस्थानका लागि रियान परागले सर्वाधिक ४७ रनको योगदान दिए। १७ वर्षिय युवा खेलाडी परागले सर्वाधिक रन बनाउने क्रममा ३१ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरे।

ओपनर अजिन्का रहाणेले ३४ रन बनाउँदा अर्का ओपनर सञ्जु साम्सनले २२ रन जोडे।

कप्तान स्टेभेन स्मिथ २ रनमा आउट भए पनि जोफ्रा आर्चरले नटआउट २७ रन बनाउँदै विजयी रन प्रहार गरे।

उनले मात्र १२ बल खेल्दै २ छक्का र २ चौका हिर्काए।

कोलकत्ताका सुनिल नरानेले २ विकेट लिएका थिए।

यसअघि इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको थियो।

कोलकत्ताका लागि दिनेश कार्तिकले अर्धशतकीय इनिङ्स खेल्दै अविजित ९७ रनको योगदान दिए पनि टोलीलाई जिताउन सकेनन्।

यस्तै नितेश रानाले २१ रन जोड्दा सुबमान गिल र आन्द्रे रसेलले १४/१४ रन बनाए । राजस्थानका भरुण आरोनले २ विकेट लिए ।

यो जितसँगै राजस्थानले प्ले अफ सम्भावना जीवित राखेको छ।

पराजित कोलकोत्ता छैठौं यथावत छ। कोलकत्तासँगै राजस्थान र बैंलोरको समान ८-८ अंक भए पनि कोलकत्ता रनरेटमा अगाडि छ।

यो सिजनको पहिलो भेटमा कोलकत्ताले राजस्थानलाई ८ विकेटले हराएको थियो। राजस्थानले यसको बदलासमेत लिएको छ। राजस्थानले ११ खेलबाट ८ अंक जोडेको छ।

प्रकाशित मिति: : 2019-04-26 00:12:42

प्रतिकृया दिनुहोस्