हैदरावादलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

तस्बिरः एजेन्सी

महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नई सुपर किङ्स भारतमा जारी १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्षस्थानमा उक्लिएको छ।

मंगलबार सनराईजर्स हैदरावादलाई अन्तिम बल अगाडि ६ विकेटले पराजित गर्दै चेन्नई पुनः शीर्ष स्थानमा फर्किएको हो।

घरेलु मैदान चिदामबराम स्टेडियममा हैदरावादले दिएको १७६ रनको लक्ष्य चेन्नईले अन्तिम बल बाँकि छँदै ४ विकेट गुमाएर भेट्टायो।

चेन्नईको जितमा शेन वाट्सनले ९६ रनको अर्धशतकीय इनिङ्स खेले। शतक बनाउन ४ रनले चुकेका वाट्सनले ५३ बल खेल्दै ९ चौका र ६ छक्का प्रहार गरे।

सुरेश रैनाले ३८ रन जोड्दा अम्बाती रायडुले २१ रन बनाए। केदार जाधब ११ रनमा नटआउट रहे।

हैदरावादका लागि राशिद खान, भुवनेश्वर कुमार र सन्दीप शर्माले १/१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर १७५ रन बनाएको थियो।

उसका लागि मनिष पाण्डे र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले। पाण्डेले अविजित ८३ रनको योगदान दिँदा वार्नर ५७ रनमा आउट भए। विजय शंकरले २६ रन बनाए।

चेन्नईका हरभजन सिंहले २ तथा दिपक चाहरले १ विकेट लिए।

यो जितसँगै चेन्नईले ११ खेलबाट १६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट १४ अंक जोडेको दिल्ली क्यापिटल्स दोस्रो स्थानमा झरेको छ।

पराजित हैदरावादको १० खेलबाट १० अंक जोड्दै तालिकाको चौंथो स्थानमा छ।१२ अंकसहित मुम्बई तेस्रो स्थानमा छ।

प्रकाशित मिति: : 2019-04-24 00:19:24

प्रतिकृया दिनुहोस्