खेलकुदले सक्दिँन भनोस्, पूर्वाधार हामी बनाउँछौंः मेयर धवल शमशेर

तस्बिरः बिएल

आठौं बृहत राष्ट्रिय खेलकुदका लागि नेपालगञ्जमा अपुरो निर्माण भएको पूर्वाधारको स्वामित्व लिन आफूहरु तयार रहेको नेपालगञ्ज उपमहानगरपालिका मेयर धवलशमशेर राणाले बताएका छन्।

उनले आठौं राष्ट्रिय प्रतियोगिताका लागि नेपालगञ्जमा निमार्ण गर्ने भनिएको पूर्वाधार समयमा निमार्ण नभएको प्रति चिन्ता व्यक्त गरे।मंगलबार नेपालगञ्जस्थित बाटिका होटलमा पत्रकारसँग साक्षात्कार कार्यक्रममा बोल्दै मेयर राणाले राष्ट्रिय खेलकुद परिषद्‌प्रति कटाक्ष गर्दै भने,‘यो उहाँ (परिषद्) को सम्पत्ति हो।त्यसैले पहिलो अधिकार उहाँहरुसँग छ।उहाँहरूले पूर्वाधार निमार्ण सम्पन्न गर्न सक्नु भएन भने हामी पूरा गर्छौं।तर, त्यसका लागि हामीलाई भन्नु पर्यो।’

नेपालगञ्जलाई ‘खेलाडीको सहर’ भनेर चिनाउने अभियानमा लागेका मेयर राणाले महेन्द्र रंगशालामा निमार्ण सम्पन्न हुन नसकेको पौडी पोखरीको विषयमा चिन्ता व्यक्त गरे। ‘प्रतियोगिताभन्दा अगाडि निमार्ण भइसक्नु पर्ने पोखरी बन्न सकेन। उहाँहरुको आफ्नै बाध्यता होला। प्रतियोगिता सम्पन्न भइसकेपछि पनि निमार्ण कार्य सुचारु रहनुपर्छ,’ उनले भने।

परिषद्ले निमार्ण गर्न नसकेको पूर्वाधारहरुमा उपमहानगरपालिकालाई लिखित जानकारी दिए भोलिदेखि नै आफूहरु निमार्ण कार्यमा तदारुकताका साथ लाग्ने बताए।

‘हामी पब्लिक, प्राइभेट, पार्टनरसिपको मोडालिटीमा काम गर्न चाहन्छौं। बरू पौडी पोखरीबाट हुने आम्दानी खेलकुदले लिओस्। हामी पूर्वाधार निमार्णमा कटिबद्ध छौं,’ मेयर राणाले बताए।

उनले आठौं राष्ट्रिय खेलकुद गर्ने सवालमा सुरूमा उपमहानगरपालिकालाई बाइपास गर्ने काम भएको बताए। ‘सुरूमै हामीलाई सहभागी गराएको भए अझै राम्रो हुन्थ्यो,’ उनले भने, ‘उपमहानगरपालिकाको सहयोगकै कारण आठौं राष्ट्रिय खेलकुदमा स्थानीयहरुको कुनै बाधा अवरोध नगरेको र खेल सुचारू रूपले सञ्चालन भएको सत्य हो।’

उनले नेपालगञ्जलाई ‘खेलाडीको सहर’ भनेर चिनाउन विभिन्न खेल गतिविधि सञ्चालन गरेको पनि जानकारी दिए। उनले नेपालगञ्जमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निमार्णका लागि तयारी भइरहेको पनि बताए। उनले वडा नम्बर १ मा फुटबल एकेडेमी र ब्याडमिन्टन कोर्ट बनेको जानकारी दिए। यस्तै, वडा नम्बर १२ मा फुटसल ग्राउन्ड तयार भएको बताए।

उनले निकट भविष्यमै नेपालगञ्जबाट राराका लागि अन्तर्राष्ट्रिय साइकल प्रतियोगिता आयोजना गर्न लागिएको बताए। उनले नेपालगञ्जको चिनारीको रुपमा रहेको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता र नेपालगञ्ज म्याराथनका लागि उपमहानगरपालिकाले सहयोग गर्दै आएको पनि जानकारी पनि दिए।

प्रकाशित मिति: : 2019-04-23 19:20:48

प्रतिकृया दिनुहोस्