आठौं बृहत राष्ट्रियको बजेट कति हो हामीलाई जानकारी छैनः उपाध्यक्ष तिम्सिना

तस्बिरः बिएल

नेपालगञ्जलगायत प्रदेश नम्बर ५ मा आयोजना भइरहेको आठौं बृहत राष्ट्रिय खेलकुदमा अनेकौं त्रूटि र भद्रगोल देखिएको छ। लथालिङ अवस्थामा भइरहेको यो प्रतियोगितामा नेपाली खेलाडीमाथि पर्ने मानसिक तनाव एकातिर छँदैछ। यसले नेपाली खेलकुदको स्तर, विशेषत व्यवस्थापन पक्ष खस्कीदै गएको आभाष पनि दिन थालेको छ।

भलिबल र केही निश्चित खेललाई छोडेर भन्नु पर्दा कुनै पनि खेलको खेलस्थल पूर्ण छैन। कति त खाली जग्गामा हचुवाको भरमा प्रतियोगिता आयोजना गरेको देखिन्छ। सबैभन्दा रोचक कुरा ११ खेलका खेलाडीहरु प्रतियोगिता उद्घाटन हुनुपूर्व नै आफ्नो खेल सकिएर घर फर्किसकेका थिए।

बृहत राष्ट्रिय खेलकुदको मूल उद्धेश्य भनेको नै खेलाडीबीचको आपसी भाईचारा हो। तर, एउटा खेलका खेलाडीले अर्को खेलका खेलाडीको अनुहार पनि हेर्न नपाउँदै खेल सकेर घर फर्किसकेका थिए।

यतिबेला नेपाली खेलकुदमा आसीन पदाधिकारीको मानसिकता खेलाडीको मनोवलमाथि उकास्ने भन्दा पनि आफूले जे गरेपनि हुन्छ भन्ने दम्भ बढी देखिन्छ। यसले नेपाली खेलकुदको विकास होइन, विनास गर्ने पक्का छ।

यसै सेरोफेरोमा रहेर ब्रेकिङलिंक्सले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनासँग गरेको कुराकानीको सम्पादित अंश।

तपाईले आइटिएफ तेक्वान्दोको समापनमा आठौंमा देखिएको सम्पूर्ण कमि कमजोरीको नैतिक जिम्मेवारी लिन्छु भन्नुभयो। कस्तो किसिमको जिम्मेवारीको कुरा गर्न खोज्नु भएको हो?

जति कमि कमजोरी देखिए। आगामी दिनमा मैले त्यो नहुने खालको जिम्मेवारी लिनुपर्छ। प्रतियोगिता सकिएपछि बोर्डको समीक्षा बैठक बस्छ। र, यसमा कसको कमजोरी भयो भनेर गम्भीर ढंगले समीक्षा हुन्छ।

न भौतिक पूर्वाधार तयार छ। न खेलाडी छनोटको मापदण्ड पुरा भएको छ। राज्यको सम्पत्ति दोहन गर्न यो प्रतियोगिता भयो जस्तो लाग्दैन तपाईलाई?

म कसैलाई दोष दिन्नँ। एकै ठाउँलाई मात्र दोष दिन्छु। म खेलकुद ऐन २०४८ लाई मात्र दोष दिन्छु।

भनेपछि तपाईले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिवलाई दोष दिन खोज्नुभएको हो?

म न सदस्य–सचिवलाई दोष दिन्छु, न खेलकुद मन्त्रीलाई नै। खेलकुद ऐन २०४८ नै दोषि छ।

आठौंका लागि तयार पारिएको पौडी पोखरीको विषयमा धेरै कुरा आइरहेको छ। पोखरी निमार्णमा ठूलो भ्रष्टाचार भएको छ भन्ने जनगुनासो पनि छ नि?

म पनि चिन्ता र चासो राख्ने व्यक्ति हुँ। मैले यस विषयमा निर्माण प्रमुख, पौडी संघका अध्यक्षलाई भेटेर कुरा गरेको थिएँ। सुरूदेखि नै मैले उहाँहरुलाई खेलभन्दा अगाडि पौडी पोखरी तयार भएन भने तपाईंहरुले नैतिक जिम्मेवारी लिनुपर्छ भनेको थिएँ। मसँग उहाँहरुले निमार्ण हुन्छ भनेको फुटेज पनि छ।

यस विषयमा सदस्य–सचिव, मन्त्रीज्यू र उपाध्यक्ष अनभिज्ञ होलान्। तर, प्राविधिक साथीहरुले हुन्छ, जसरी पनि हुन्छ भनेर भन्नु भएको छ। पौडी संघको अध्यक्षलाई मैले पटक पटक भनेको थिएँ, अन्तिमपल्ट निरीक्षण र अनुगमनमा आउँदा पनि भनेको थिएँ, कुनै हालतमा सम्पन्न हुँदैन। ३ महिनाअघि यहाँ आउँदा मैले भनेको थिएँ, नेपालगञ्जबासीलाई धोका दिने काम गर्नु हुँदैन। जबरजस्ती गराउने कामले गर्दा धोका भयो।

पूर्वाधार तयार नभई किन प्रतियोगिता गर्न तम्सिनु भयो?

मैले धेरै अगाडिदेखि पूर्णरूपमा पूर्वाधार निमार्ण नभई प्रतियोगिता नगराऔं भन्दै आइरहेको थिएँ। फागुनमा आठौं गराउने प्रयास गरियो, हुँदैन भन्यौं हामीले। चैतमा भनियो, त्यो पनि हुँदैन भन्यौं हामीले। वैशाख ५ मा हामीलाई बाध्यता थियो। दक्षिण एसियाली खेलकुद नजिकिँदै गएका कारण गर्नुपर्ने बाध्यता थियो। तर, हामीले १० वा १२ गतेदेखि गरौं भनेका थियौं।

भनेपछि प्राविधिकबाट धोका पाउनु भयो?

थोरै प्राविधिकबाट धोका भएकै हो। उहाँहरुले साँचो भन्न सक्नुपर्थ्यो।

बृहत राष्ट्रिय खेलकुदको जुन उद्देश्य थियो र छ। शहर विका गर्ने, त्यो भावना मर्दै गएको हो?

वास्तवमा हामी यस कुरामा चुकेकै हो। हामीले जसरी गाउँ गाउँमा खेलकुद लैजान्छौं भनेर गर्‍यौं। त्यसको असर देखिएन। जसरी पाँच नम्बर प्रदेशभरी खेल छर्ने काम भयो, त्यसको प्रभाव देखिएन। खेलाडीबीच अन्तर–सम्वाद पनि हुन सकेन।

एसियाली र दक्षिण एसियाली खेलकुदमा एउटै गाउँमा २५ हजारसम्म खेलाडी, पदाधिकारी र प्रशिक्षक अटाएको हामीले देखेका छौं। के नेपालगञ्जले ५ हजारको हाराहारीमा खेलाडी राख्ने अवस्था थिएन? हामीले शिक्षा पाएका छौं। छरिएर खेलाउने परिपाटीले खेलाडीको मनोविज्ञानमासमेत असर परेको छ।

तपाईले छानबिनको कुरा गर्नु भएको छ, कस–कस माथि छानबिन हुन्छ?

२३ जनाको बोर्ड छ। बोर्डमा कुरा उठ्छ। त्यसमा म माथि पनि छानबिन हुनुपर्छ। गल्ती गर्ने सबैलाई कारबाही हुनुपर्छ।

सदस्य–सचिवले तपाईबाट असहयोग भयो भन्नु भएको छ नि?

यो गलत कुरा हो। परिषद् पदाधिकारीले हम्मर र कैची लिएर मैदानमा उत्रिने हो भने म जान्दिनँ। हामीबाट कत्तै असहयोग भएको छैन।

हामीले बोर्ड बैठक बसेर मिति तोकेका हौं। मैले नै पत्रकार सम्मेलन गरेर एक महिना ‘एकताका साथ लागौं’ भनेको हो। उद्घाटन हुनु दुई दिन अगाडि आएर हामी खटिरहेका थियौं। बेलझुण्डीदेखि बर्दियासम्म पुगेर खेलाडीलाई हौसला दिइरहेका छौं। बरू स्थानीय र प्रदेश सरकारसँग हामीले सहयोग लिन नसकेको सत्य हो।

बजेट निकासा गर्ने विषयमा बोर्डमा एकता देखिएन भनिन्छ नि?

यो विषयमा तपाईंहरुले बोर्ड सदस्य र पदाधिकारीलाई मुछ्नु हुँदैन। कार्यकारी प्रमुखले हो, बजेट बनाउने, प्रस्ताव गर्ने। हामीसँग उहाँले सहयोग माग्नुभयो भने डेलिगेसनमा जाने हो। उहाँ (सदस्य–सचिव) ले आजको दिनसम्म हामीलाई आठौं बृहत राष्ट्रियको बजेट यत्ति हो भनेर आधिकारीक जानकारी दिनुभएको छैन। न त बजेटको विषयमा छलफल गर्नु भएको छ।

भनेपछि सल्लाह नै नभई बजेट निकासा भयो?

हो। बजेट कति माग भयो भन्ने कुरा आजको मितिसम्म पनि मलाई थाहा छैन।

प्रकाशित मिति: : 2019-04-23 13:21:15

प्रतिकृया दिनुहोस्