कृष्ण बस्नेतद्धारा २३ वर्ष लामो टिका बोगटीको कीर्तिमान भंग

नवीन अर्याल

 नेपालगञ्ज– नेपाल आर्मीका कृष्ण बस्नेतले २३ वर्ष अगाडि टिका बोगटीले मद्रास साफमा स्वर्ण जित्दा निकालेको समयलाई उछिनेका छन्। उनले आठौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत दाङमा भइरहेको एथलेटिक्सको म्याराथन स्पर्धामा उत्कृष्ट समय निकालेका हुन्। उनी सन् १९८७ को कोलकाता साफमा बैकुण्ठ मानन्धरले बनाएको राष्ट्रिय कीर्तिमानपछि दोस्रो बन्न पुगेका छन्। बस्नेतले २ घण्टा १७ मिनेट ३३ सेकेन्डमा म्याराथन पुरा गरेका हुन्। मद्रासमा आयोजना भएको सातौं साफमा टिका बोगटीले २ घण्टा १९ मिनेटमा म्याराथन पुरा गरेका थिए। बैकुण्ठ मानन्धरले कोलकातामा सम्पन्न तेस्रो साफमा २ घण्टा १५ मिनेट ०३ सेकेन्डमा पुरा गरेका थिए। मानन्धरको यो कीर्तिमान दक्षिण एसियाको पनि हो। अहिलेसम्म उनको यो कीर्तिमान कसैले तोड्न सकेको छैन। रामेछाप गोकुल गाउँपालिका– ३ निवासी बस्नेत विगत १३ वर्षदेखि नेपाल आर्मीमा आवद्ध छन्। उनी खेलाडीको रुपमा नभई आर्मीको जागिरेको रुपमा आवद्ध भएका थिए। त्यही राम्रो भएपछि एथलेटिक्समा प्रवेश गरे। ‘अहिलेको उपलब्धीलाई मैले ठूलो सफलताको रुपमा लिएको छु’, बस्नेतले जितपछि ब्रेकिङलिंक्ससँग भने। बस्नेतले गत वर्ष प्रधानसेनापति कप पनि जितेका थिए।

प्रकाशित मिति: : 2019-04-22 13:08:31

प्रतिकृया दिनुहोस्