युभेन्टसको कीर्तिमान, लगातार आठौंपटक सिरी ‘ए’ च्याम्पियन

पाँच खेल अगावै युभेन्टस यो सिजनको इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ। लगातार आठौं पटक सिरी ‘ए’ को च्याम्पियन बन्ने क्रममा युभेन्टसले शनिबार राति फियोरेन्टिनालाई २–१ ले हराएको थियो।

सन् २०११/१२ को सिजनमा सिरी ‘ए’ च्याम्पियन भएयता युभेन्टस् लगातार च्याम्पियन बनिरहेको छ ।

युभेन्टसले ३३ खेलबाट ८७ अंक जोड्दा जुन दोस्रो स्थानको नेपोली २० अंकले पछि परेको छ।

३३ खेलमा युभेन्टसले २८ जित, ३ बराबरी र २ मा हारको नतिजा निकाल्यो। बाँकी ५ खेलमा हार बेहोरे पनि युभेन्टस पछि पर्ने छैन। यस्तै एक खेल कम खेलेको नापोलीले बाँकै सबै ६ खेल जित पनि युभेन्टसलाई उछिन्ने छैन।

घरेलु मैदान एलिनाज स्टेडियम टोरिनोमा शनिबार युभेन्टसले १ गोलले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो।

खेलको छैठौं मिनेटमा निकोला मिलेनकोभिकले गोल गर्दै पाहुना टोलीलाई सुरूवाती अग्रता दिलाएका थिए।

खेलको ३७ औं मिनेटमा एलेक्स सान्द्रोले गोल गर्दै युभेन्टसलाई बराबरीमा ल्याए।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा युभेन्टसले सुरुमै आत्मघाती गोल उपहार पाएको थियो।

खेलको ५३ औं मिनेटमा जर्मन पिज्जेल्लाले विपक्षीको प्रहार बचाउन खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए। त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस २–१ ले विजयी हुँदै कीर्तिमानी लगातार ८ पटक लिग जित्न सफल भयो।

रोनाल्डको कीर्तिमान

यो सँगै यसै सिजन युभेन्टस आएका पोर्जुगिच स्टार रोनाल्डोका लागि पहिलो लिग उपाधि हो।

यो जितसँगै रोनाल्डोले दुर्लभ कीर्तिमानसमेत बनाएका छन्। शनिबार युभेन्टसले लिग उपाधि पक्का गरेसँगै रोनाल्डो तीन फरक शीर्ष लिगको उपाधि जित्ने एक्लो खेलाडी बने।

रोनाल्डोबाहेक अहिलेसम्म अन्य कुनै पनि खेलाडीले इंग्ल्यान्ड, स्पेन र इटालीको लिगको उपाधि जित्न सकेका छैनन्।

रोनाल्डोले यसअघि म्यानचेस्टर युनाइटेडबाट खेल्दै इंग्लिस प्रिमियर लिग र रियल म्याड्रिडबाट खेल्दै स्पेनिस ला लिगाको उपाधि जितिसकेका छन्।

सन् २००९ मा रियल जानुअघि रोनाल्डोले युनाइटेडबाट लगातार तीन प्रिमियर लिगको उपाधि जितेका थिए।

रियलमा रोनाल्डोले दुई पटक स्पेनिस ला लिगाको उपाधि जिते। यसै सिजनको सुरुवातमा रियल छाडेर युभेन्टस पुगेका रोनाल्डोले पहिलो सिजन नै सिरी ‘ए’ उपाधि जित्न सफल भएका हुन्।

प्रकाशित मिति: : 2019-04-21 08:50:26

प्रतिकृया दिनुहोस्