मुम्बईको लगातार दोस्रो हार, कप्तान बनेको पहिलो खेलमै स्मिथले राजस्थानलाई जिताए

तस्बिरः एजेन्सी

स्टेभन स्मिथको कप्तानी इनिङ्ससँगै राजस्थान रोयल्सले तेस्रो जीत निकालेको छ।

कप्ताको जिम्मेवारी पाएको पहिलो खेलमै स्टिभ स्मिथले अविजित अर्धशतक जोडेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजिस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले हराएको हो।

मुम्बईले दिएको १ सय ६२ रनको लक्ष्य राजस्थानले पाँच बल अगाडि नै ५ विकेट गुमाएर पुरा गर्‍यो।

राजस्थानको जितमा कप्तान स्टिभ स्मिथले ४८ बल खेल्दै ५ चौका र १ छक्कासहित ५९ रनमा अविजित रहे। त्यस्तै रियान परागले २९ बलमा ५ चौका र १ छक्का सहित ४३ रन बनाउँदा अजिंक्या रहाणेले १२ रन जोडे।

बेन स्ट्रोक्स र एस्टन टर्नर शून्यमा आउट हुँदा सन्जु स्यामसनले ३५ रन जोडे।  मुम्बईका लागि राहुल चाहरले ३ तथा जसप्रित बुमराहले १ विकेट लिए।

यसअघि जयपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६१ रन बनाएको थियो।

मुम्बईका लागि क्विन्टन डी ककले ६५ रन बनाउँदा कप्तान रोहित शर्मा ५ रनमै आउट भएका थिए। डी ककले ४७ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरेका थिए।

मुम्बईलाई डी ककले दोस्रो विकेटका लागि सूर्य कुमार यादवसँग ९७ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए।

यादव ३४ रन बनाएर आउट भएका थिए। काईरन पोलार्ड १०, हार्दिक पान्ड्या २३ रनमा आउट हुँदा बेन कटिङ १३ र क्रुनाल पान्ड्या २ रनमा अविजित रहेका थिए।

राजस्थानका लागि श्रेयस गोपालले २, जयदेव उनादकट, स्टुअर्ट बिन्नी र जोफ्रा आर्चरले समान एक विकेट लिए।

यो सँगै मुम्बईले लगातार दोस्रो खेलमा पराजय व्यहोरेको हो। मुम्बईले जारी लिगमा १० खेल खेल्दै १२ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ।  यता तेस्रो जित निकालेको राजस्थान अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ।

यसैबीच राजस्थान रोयल्सले आजदेखि कप्तान परिवर्तन गरेको छ। नयाँ कप्तानको जिम्मेवारी स्टिभ स्मिथलाई दिएको छ।

अजिंक्या रहाणेले सुरूवाती ८ खेलमध्ये  ६ खेल हार्दै खराव सुरुवात दिलाएपछि प्ले अफमा पुग्नको लागि उत्कृष्ट प्रर्दशनको लागि नयाँ कप्तानको आवश्यकता रहेको भन्दै स्मिथलाई उक्त जिम्मेवारी दिएको हो।

अघिल्लो संकरणमा स्मिथ बल टेम्पिरिङ काण्डको कारण आईपीएल नखेले पछि राजिस्थानले अजिंक्या रहाणेलाई कप्तान बनाएको थियो।

प्रकाशित मिति: : 2019-04-20 23:15:35

प्रतिकृया दिनुहोस्