कोलकत्तामाथि बैंलोरको रोमाञ्चक जित, कोहलीको शतक

तस्बिरः एजेन्सी

विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ ।

शुक्रबार कोलकत्ता नाइट राइडर्सलाई रोमाञ्चक खेलमा १० रनले हराउँदै बैंगलोरले प्रतियोगितामा दोस्रो जित निकालेको हो।

कोलकत्तास्थित इडेन गार्डेन्समा बैंगलोरले दिएको २१४ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ५ विकेट गुमाएर २०३ रन मात्र बनाउन सक्यो ।

कोलकत्ताका लागि नितिस राना र आन्द्रे रसेलले ४८ बलमा ११८ रनको साझेदारी गरे पनि टोलीलाई जिताउन सकेनन्। अविजित रहँदै रानाले ८५ रन जोड्ने क्रममा ४६ बल खेल्दै ९ चौका र ५ छक्का प्रहार गरेका थिए।

यस्तै आन्द्रे रुसेलले बिस्फोटक ब्याटिङ गर्दै २५ बलमा ९ छक्का र २ चौकासहित ६५ रन बनाए।

सुनिल नारायणेले १८ रन बनाउँदा शुभबन गिल र रोबिन उथप्पाले समान ९-९ रन बनाए। ओपनर क्रिश लिन १ रनमा आउट भएका थिए।

बैंगलोरका डेल स्टेनले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१३ रन बनाएको थियो।

बैंगलोरका लागि कप्तान विराट कोहलीले १०० रनको शतकीय इनिङ्स खेले। कोहलीले ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गरे। यस्तै मोइन अलिले ६६ रनको अर्धशतकीय इनिङस खेल्दै बिशाल योगफल तयार पारे।

कोलकत्ताका कुलदिप यादव, आन्द्रे रसेल, ह्यारी गुर्नी र सुनिल नारिनले १/१ विकेट लिएका थिए।

यो जितसँगै बैंगलोर कोलकत्तासँग पहिलो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ। बैंगलोरको मैदानमा भएको खेलमा कोलकत्ताले ५ विकेटको जित निकालेको थियो ।

जितसँगै पुछारको बैंगलोरले ९ खेलबाट ४ अंक जोडेको छ। कोलकत्ताले ९ खेलमा ४ जितसहित ८ अंक जोडेको छ। कोलकत्ता लिगको छैठौं स्थानमा छ। लिगमा ९ खेलबाट ७ जितसहित चेन्नई सुपर किङ्स शीर्ष स्थानमा रहँदा १२ अंकसहित मुम्बई इन्डियन दोस्रो तथा १० अंकसहित दिल्ली तेस्रो स्थानमा छन्।

प्रकाशित मिति: : 2019-04-20 00:36:37

प्रतिकृया दिनुहोस्