ओलम्पिक टर्च बाल्दा भावुक थिएः सुरेन्द्र हमाल

नवीन अर्याल

नेपालगञ्ज– आठौं बृहत राष्ट्रिय खेलकुदमा ओलम्पिक टर्च प्रज्वलन गरेका सुरेन्द्र हमालले आफू निकै भाग्यमानी भएको बताएका छन्। 

ब्रेकइनलिङ्ससँग शुक्रबार नेपालगञ्जमा कुरा गर्नेक्रममा उनले आफू प्रज्वलनको बेला केही भावुक भएको पनि बताए। ‘कुनै पनि खेलाडीका लागि यो सबैभन्दा ठूलो सम्मान हो,’ बाँके प्रदेश सभाको निर्वाचनमा क्षेत्र नम्बर २ ‘ख’ बाट सभासद् निर्वाचित हमालले भने।
हमालले सन् १९८४ को लस एञ्जल्स ओलम्पिकमा भारत्तोलनबाट नेपालको प्रतिनिधित्व गरेका थिए। उनले सन् १९८२ को दिल्ली एसियाडबाट लगातार ४ वटा एसियन गेम्स पनि खेलेका थिए।
दक्षिण एसियाली खेलकुदका पदक विजेता हमाल २०३८ सालमा काठमाडौंबाट सुरु भएको पहिलो बृहत राष्ट्रिय खेलकुदमा पनि सहभागी थिए।
३८ वर्ष अगाडि यही प्रतियोगितामा उनी युवा खेलाडीको रुपमा प्रवेश गरेका थिए। अहिले आफ्नै प्रदेशमा दोस्रो पल्ट प्रतियोगिता आयोजना गर्दा ओलम्पिक टर्च प्रज्वलन गर्ने सौभाग्य पाउनु उनको लागि गौरव गर्ने विषय पनि हो।
‘मैले खेलकुदमा लागेर निकै सम्मान पाएको छुँ। म कहिले काही आफूलाई भाग्यमानी खेलाडी पनि सम्झन्छुँ,’ उनले भने।
हमालले ४ वटा विद्यामा राष्ट्रिय प्रतियोगिता खेलेका छन्। उनले सर्वप्रथम २०३२ सालमा टेबल टेनिसको राष्ट्रिय प्रतियोगिता खेलेका थिए। २०३५ सालमा उनी भेरी अञ्चलबाट जय ट्रफी क्रिकेट प्रतियोगितामा सहभागी थिए। यतिबेला भेरी र बागमती संयुक्त विजेता बनेको थियो। २०५१ सालमा उनले कबडीको पनि राष्ट्रिय प्रतियोगिता खेलेका थिए।
२०४० सालमा पोखरामा आयोजना भएको दोस्रो बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको नियमलाई लिएर भएको सामान्य विवादमा भेरी अञ्चललाई (तत्कालिन) राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वले एक वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। हमालले करिब डेढ वर्ष कुनै प्रतियोगिता खेल्न पाएनन्।
तर, प्रतिबन्ध फुकुवा भएपछि उनी पुनः खेलमा फर्किए। २०३७ सालमा भारत्तोलनमा आवद्ध हमालले २०४१ मा पहिलो राष्ट्रिय पदक जितेका थिए।
सुरेन्द्र हमाल यसअघि राष्ट्रिय खेलकुद परिषद्को कोषाध्यक्ष पनि नियुक्त थिए। उनको जीवनीमा आधारित ओलम्पियन नामक किताब पनि प्रकाशित छ।

 

 

प्रकाशित मिति: : 2019-04-19 23:04:57

प्रतिकृया दिनुहोस्