नेपालले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय क्रिकेटको वरीयतामा एक स्थान सुधार गरेको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १४औं स्थानमा आइपुगेको हो।
यसअघि नेपाल १५ औं स्थानमा थियो । टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा पनि नेपाल १४ औं स्थान मै छ ।
गत माघमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा २-१ को जित निकालेपछि नेपाल आईसीसीको वरियतामा पर्दै आएको छ ।
उक्त सिरिजपछि नेपालले एकदिवसीय खेल खेलेको छैन । तर, अन्य टोलीको प्रदर्शन घटबढ हुँदा नेपालले वरियतामा सुधार गरेको हो।
आईसीसीको एकदिवसीय मान्यता प्राप्त १६ राष्ट्रमध्ये १४ औं स्थानको नेपालले १० खेलबाट १५२ अंक तथा १५ रेटिङ पाउँदा १९ खेल खेलेको युएईले २६७ अंक जोड्दै १४ रेटिङ पाएको छ। त्यस्तै नेपालभन्दा मुनीको नेदरल्याण्डले ६ खेल खेल्दै ५० अंक तथा ८ रेटिङ पाएको छ।
वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रो स्थानमा न्युजील्याण्ड रहेका छन् । यस्तै चौंथोमा दक्षिण अफ्रीका र पाँचौमा अष्ट्रेलिया छन्। छैठौं वरियतामा पाकिस्तान, सातौमा बंगलादेश, आठौंमा श्रींलंका, नवौमा वेष्टइन्डिज र १० औं स्थानमा अफगानिस्तान छन्।
यस्तै वरियताको ११ औं स्थानमा जिम्बाम्मे रहँदा १२ औं मा आयरल्याण्ड तथा १३औं स्थानमा स्कटल्याण्ड छन्।
यस्तै टी २० को ब्याटिङ वरियतामा नेपाली कप्तान पारस खड्का शीर्ष १०० भित्र अटाएका छन्। उनी ९५ औं स्थानमा छन्। यस्तै बलिङ वरियतामा सोमपाल कामी र बसन्त रेग्मी समान ६८ औं स्थानमा छन्।
यस्तैअलराउण्डको शीर्ष १०० भित्र नेपालका कप्तान पारस खड्का ३७ औं स्थानमा छन् सोमपाल कामी ४९ औं स्थानमा परेका छन्।