डिफेन्डिङ च्याम्पियन पोर्चुगलले युरोकप छनोट खेलमा खराब सुरूवात गरेको छ।
आगामीसन् २०२० मा आयोजना हुने युरो कप यात्राको सुरूवात निराशाजनक गरेको पोर्चुगलले गएराति भएको समूह ‘बी’को आफ्नो पहिलो खेलमायुक्रेनसँग गोलरहित बराबरीमा रोकिएको हो।
क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा घरेलु मैदानमा ओर्लिएको पोर्चुगलले ५९ प्रतिशत समय बलमाथि नियन्त्रण राखे पनि गोल गर्न नसक्दा तीन अंक जोड्न सकेन।
रूसमा सम्पन्न विश्वकपछि रोनाल्डो पहिलो पटक राष्ट्रिय टोलीमा फर्किएका थिए। तर, उनले पाएका केही राम्रा अवसरमा गोल गर्न नसक्दा टोली बराबरीमा रोकिन बाध्य भयो।
रूस विश्वकपपछि पोर्चुगलले खेलेका विभिन्न ६ वटा अन्तर्राष्ट्रिय खेलमा रोनाल्डोले खेलेका थिएनन्।
पोर्चुगललाई उसैको मैदानमा बराबरीमा रोक्न युक्रेनका गोलरक्षक आन्द्रे प्यातोभले उत्कृष्ट प्रदर्शन गरे । उनले रोनाल्डोसहित पोर्चुगलका दर्जन बढी प्रहारलाई विफल पारेका थिए ।
पोर्चुगलले आफ्नो दोस्रो छनोट खेल आगामी सोमबार घरेलु मैदानमै सर्बियासँग खेल्नेछ। समूह ‘बी’ अन्तर्गतकै अर्को छनोट खेलमा लग्जम्बर्गले घरेलु मैदानको फाइदा उठाउँदै लिथुआनियालाई २—१ गोलले पराजित गर्यो।
तालिकामा तीन अंकसहित लग्जम्बर्ग पहिलो, एक अंकसहित पोर्चुगल दोस्रो र एक अंकसहित युक्रेन तेस्रो स्थानमा छन् ।