स्पेनिस ला लिगा फुटबलमा शीर्षस्थानमा रहेको बार्सिलोनाले पुनरागमन जित निकाल्दै ७ अंकको अग्रता बनाएको छ।
बार्सिलोनाले घरेलु मैदानमा पछि परेको स्थिति उल्ट्याउँदै रायो भालेकानामाथि ३–१ को सानदार जित निकालेको हो।
बार्सिलोनाको जितमा कप्तान लियोनेल मेसीसँगै लुइस स्वारेज र जेरार्ड पिकेले गोल गरे। भालेकानोका लागि राहुल डि टोमसले गोल गरेका थिए।
खेलको २४ औं मिनेटमा भालेकानोका लागि राहुलले गोल गर्दै खेलमा सुरूवाती अग्रता लिएको थियो।
तर खेलको ३८औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा पुर्याए। उनले कप्तान मेसीको फ्रिकिकमा हेडमार्फत गोल गरेका थिए।
पहिलो हाफ १-१ को बराबरीमा सकिए पनि दोस्रो हाफमा बार्सिलोना खेलमा हाबी भयो। खेलको ५१औं मिनेटमा कप्तान मेसीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई खेलमा २–१ को अग्रता दिलाए।
नेल्सन सेमेडोलाई जोर्डी अमातले डि एरियामा लडाएपछि रेफ्रीले भिएआरको सहायतामा बार्सिलोनालाई पेनाल्टीको मौका दिएको थियो।
खेलको ८२ औं मिनेटमा लुइस स्वारेजले टोलीका लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई ३–१ को सहज जित दिलाए।
यो जितसँगै बार्सिलोनाको २७ खेलबाट ६३ अंक पुगेको छ। बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडलाई ७ अंकले पछि पारेको छ।
मड्रिडको समान खेलबाट ५६ अंक छ। तेस्रो स्थानको रियल मड्रिडको एक खेल कम खेल्दै ४८ अंकमा छ।