पीएसजीलाई स्तब्ध पार्दै युनाइटेड क्वाटरफाइनलमा

एपी

पेरिस सेन्ट जर्मेन (पीएसजी) को घरेलु मैदानमा सानदार जित निकाल्दै म्यानचेस्टर युनाइटेड यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

पहिलो लेगमा आफ्नै घरेलु मैदानमा २-० ले पराजित भएको युनाइटेडले बुधबार उत्कृष्ट पुनरागमन गर्दै ३-१ को सानदार जित निकाल्यो। यो जितसँगै अवे गोलको आधारमा म्यान्यू अर्को चरणमा प्रवेश गरेको हो।

म्यान्यूको जितमा रोमेलु लुकाकुले २ तथा रासफोर्डले १ गोल गरेका थिए। पिएसजीका लागि गोल फर्काए।

पीएसजीको घरेलु मैदानमा युनाईटेडले खेलको दोस्रो मिनेटमै लुकाकुले गोल गर्दै सुरूवाती अग्रता लिएको थियो। तर खेलको १२औं मिनेटमा केलियन एम्बाप्पेको पासलमा अनमार्क रहेका जुवान वर्नाटले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

खेलको ३० औं मिनेटमा लुकाकुले गोल गर्दै पुनः पाहुना टोलीलाई अग्रता दिलाए। रासफर्डले लामो दुरीबाट गरेको प्रहारलाई गोलरक्षक जियानलुइजी बुफोनले फुस्काएपछि लुकाकुले त्यसमा गोल गरेका थिए।

पहिलो हाफमा २-१ ले अगाडि रहेको म्यान्यूले दोस्रो हाफमा एक गोल थप्दै जित सुनिश्चित गर्‍यो।

मार्कस रासफर्डले खेलको दोस्रो हाफको इन्ज्युरी समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेपछि युनाइटेडको जित पक्का भएको थियो।

डिओगो डालोटले प्रहार गरेको सट प्रेस्नेल किम्पेम्बेको हातमा लागेर फर्केपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को साहारा लिँदै युनाइटेडलाई पेनाल्टी दिएका थिए।

घरेलु मैदानमा २-० ले पराजित युनाईटेडले युरोपेली क्लब फुटबलको इतिहासमा उत्कृष्ट कमब्याक गर्न सफल भएको छ।

च्याम्पियन्स लिगको इतिहासमा घरेलु लेगमा भएको पहिलो लेगमा २-० वा सोभन्दा पछाडि परेर अर्को चरण पुगेको यो पहिलो अवसर हो।

प्रकाशित मिति: : 2019-03-07 08:39:53

प्रतिकृया दिनुहोस्