रिजालमाथि आक्रमणको प्रयास भएकामा ध्यानाकर्षण

तनहुँमा नेकपाका कार्यकर्ताले काङ्ग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालमाथि आक्रमण प्रयास गर्दै।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तनहुँमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले काङ्ग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालमाथि आक्रमण गर्न खोजेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै नेता रिजालमाथि नेकपाका कार्यकर्ताले गरेको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।

तनहुँको रिसिङ गाउँपालिकाको भवन शिलान्यास कार्यक्रममा जानुभएका नेता रिजाल, काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति लगायतलाई नेकपाका कार्यकर्ताले खुकुरी, भाला, लाठी, ढुङ्गा र सिसीले आक्रमणको प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रमका विषयमा स्थानीय प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले बेवास्ता गरेको काङ्ग्रेसले जनाएको छ।

गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको शिलान्यास डा रिजालबाट गराउने निर्णय गरेपछि उनी त्यहाँ गएका थिए।

कांग्रेस नेता रिजालले प्रधानमन्त्री केपी ओलीको विरोध कालो झण्डा देखाउनेलाई पक्राउ गर्ने अनि अन्य पार्टीका नेता कार्यकर्ताको बाटो अवरोध गर्न कार्यकर्ता उतार्ने कस्तो शैली भनेर प्रश्न गरेका छन्।

यसैबीच, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक विज्ञप्ति जारी गरी गाउँपालिकाको भवन उद्घाटनका लागि अतिथिलाई कुरेर बसेका लाखौँ जनतामाथि अपमान गर्दै नेकपाका कार्यकर्ताले मण्डले शैलीमा कांग्रेस नेता डा रिजाललाई अवरोध गरेको आरेप लगाएका छन्। 

पौडेलले नेकपाका कार्यकर्ताले एक्कासी मण्डले शैलीबाट बाटो अवरोध गरेर नेता रिजाल र तनहुँको रिसिङका जनतामाथि समेत अपमान गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्। ‘पञ्चायतका मण्डलेहरुको शैली अनुशरण गर्दै नेकपाका नेता कार्यकर्ता फाँसिवादी र अधिनायवादी शैलीमा प्रस्तुत भएको घटनाको म घोर भत्र्सना गर्दछु,’ पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: : 2019-09-30 07:34:36

प्रतिकृया दिनुहोस्