श्याम परदेशी जेलमा, गाउँले अझै त्रासमा

किर्ते तमसुक गराई दुई सय ९९ विपन्नलाई ठगी गर्ने सर्लाही मलंगवाका श्यामकृष्ण साह कलवार (श्याम परदेशी) जिल्ला अदालतको आदेशमा हाल पुर्पक्षका लागि गौर कारागारमा थुनामा छन् । परदेशीले उच्च अदालतमा पुनरावेदन गरेका छन् । कुनै तानाबाना बुनेर परदेशी फर्किए आफ्ना पनि दुःख फर्किएलान् भनेर गाउँले त्रसित छन् । 

‘दुलोमा पसेको सर्प निस्कियो भने के हुन्छ ?’ लालबन्दी नगरपालिका–२ की फत्मा खातुनले भनिन् । अहिले पनि परदेशीका मान्छेले बदला लिने भन्दै धम्क्याइरहेको उनले गुनासो गरिन् । ‘फोनमा गाली गर्छन्, मनपरी भन्छन्,’ खातुनले भनिन्, ‘ऊ जेलमै रहिरह्यो भने मात्रै हामी केही हदसम्म ढुक्क हुन सक्छौँ, उसका मान्छेका तथानाम गाली त बरु सहौँला ।’

परदेशी कारागारबाट फुत्किने जोडमा छन् । जिल्ला अदालत सर्लाहीको आदेशविरुद्ध उनले उच्च अदालत जनकपुरमा पुनरावेदन दर्ता गराइसकेका छन् । १४ कात्तिकमा पुनरावेदन निवेदन दर्ता गराएको उच्च अदालत स्रोतले नयाँ पत्रिकालाई बतायो । गत आइतबार गौर कारागारमै नयाँ पत्रिका टिमले भेट्दा परदेशीले पनि पुनरावेदनका लागि पारिवारिक सल्लाह भइरहेको बताए । तर, त्यो अघि नै उनले उच्चअदालतमा पुनरावेदन गरेका छन् । परदेशीको यो कसरतबाट विपन्न पीडित झन् त्रसित बनेका छन् । ‘परदेशी थुनाबाट निस्कियो भने हामी बर्बाद भइहाल्छौ्रँ,’ हरिपुर नगरपालिका–७ की शारदा चौधरीले भनिन्, ‘उसलाई राज्यले कसैगरी पनि निकाल्नुहुँदैन । नत्र हामी सयौँ पीडितका लागि अभिशाप हुनेछ ।’ 

प्रकाशित मिति: : 2019-11-15 07:08:48

प्रतिकृया दिनुहोस्