प्रदेश प्रमुख नियुक्ति, सत्तासाझेदार नै बेखबर !

काठमाडौं – वर्तमान सरकारले प्रदेश प्रमुख हटाएर नयाँ प्रदेश प्रमुख नियुक्ति गरेको विषयमा प्रतिपक्षी दलसँगै सत्ता साझेदार दलले समेत विमति प्रकटको छ । सत्ता साझेदार दल समाजवादी पार्टीले आफूहरुसँगको सहमतिबिना प्रदेश प्रमुख हटाएको भन्दै विमति राखेको हो । 

समाजवादी पार्टीका महासचिव रामसहाय यादवले सरकारको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्तासाझेदार पार्टीसँग कुनै छलफल नगरेको बताए । रातोपाटीसँगको संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘नेकपाले प्रदेश प्रमुख हटाउने र नयाँ नियुक्त गर्ने विषयमा कुनै सहमति गरेन । सात्ता साझेदार दलले सरकारबाट भएको यति ठूलो निर्णय मिडियाबाट थाहा पाउनु पर्ने अवस्था आयो ।’

छठ मनाएर काठमाडौँ फर्किँदै गरेका उनले प्रदेश प्रमुख हटाउने र नियुक्त गर्ने विषयमा समाजवादी पार्टीले आधिकारिक रुपमा आफ्नो धारणा सार्वजनिक गर्ने बताए ।

तपाईंहरुको विमति हो भन्ने प्रश्नमा यादवले भने, ‘सहमतिबिनाको निर्णय कसरी स्वागतयोग्य हुन्छ । अहिलेलाई यति नै भनौँ, बाँकी कुरा निकट समयमै सार्वजनिक गछौँ ।’

प्रकाशित मिति: : 2019-11-05 08:03:36

प्रतिकृया दिनुहोस्