चिनियाँ कम्युनिष्ट नेताहरु स्वदेश फिर्ता भएलगत्तै अमेरिकी राजदूतको दैडधुप, एकै दिन भेटे दुई नेतालाई

पूर्वप्रधानमन्त्री देउवासँग भेट्दै बेरी। फोटोः देउवाको निजी सचिवालय।

अमेरिकी राजदूत र्‍यान्डी बेरीले बुधबार बिहान सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।

राजदूत बेरी देउवालाई भेट्न बुढानिलकण्ठस्थित निवास पुगेका थिए भने नेपाललाई भेट्न उनको कोटेश्वरस्थित निवासमा पुगेका थिए।चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फिर्ता भएलगत्तै  अमेरिकी राजदूतले नेपालका नेताहरुसँगको भेटघाट बढाएका हुन् ।

सत्तारुढ दल नेकपाको निमन्त्रणमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख सोङ ताओको टोली नेपाल भ्रमण सकेर मंगलबारमात्रै स्वदेश फर्केको थियो । ताओको उपस्थितिमा नेपालमा भएको ‘सी विचारधारा’माथि नेकपाले छलफल नै चलाएको थियो । यो विषयलाई नेपाली काँग्रेसले असन्तुष्टि जनाउदै आएको बेला अमेरिकी राजदूत बेरीले कांग्रेसका सभापति देउवासँग भेट गरेका हुन् ।

सभापति देउवाले अमेरिकी राजदूतसँगको भेटमा नेपाल अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने लगायतका विषयमा छलफल भएको जनाएका छन्।
'भेटमा नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकौंदेखिको विकास साझेदारी अझ प्रभावकारी रुपमा अघि बढाउने लगायत आपसी हितका विषमया छलफल भयो,' देउवाले भनेका छन्।

अमेरिकी राजदूतले भेटे नेपाल र देउवालाई

त्यस्तै  राजदूत बेरी र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेकपा विदेश मामिला विभाग प्रमुख समेत रहेका नेपालसँगको भेटमा दुई देशबीचको पारस्पारिक सम्बन्धका विविध पक्षमा छलफल भएको उनको निजी सचिवालयले जनाएको छ। नेपालको निजी सचिवालयले जारी गरेको प्रेस नोटमा 'विकसित पछिल्ला घटनाक्रमहरू' बारे कुराकानी भएको उल्लेख छ।

'नेपाल–अमेरिका सम्बन्धको लामो इतिहासको स्मरण गर्दै विकसित पछिल्ला घटनाक्रमहरू, नेपालका लागि अमेरिकी सहयोग, नेपालको विकासको सम्भावनाहरू तथा दुई देश बीचको पारस्पारिक सम्बन्धका विविध पक्षमा कुराकानी भएको छु, नेता नेपालको स्वकीय सचिव मोहन गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'आजको भेटवार्ताले दुई देश बीचको कुटनीतिक सम्बन्धमा थप सकारात्मक योगदान दिनेछ।'

 

प्रकाशित मिति: : 2019-09-26 15:18:33

प्रतिकृया दिनुहोस्