मेडिकल कलेज सञ्चालकद्वारा एमवीवीएस र वीडीएसमा भर्ना नलिने अडान

बिएल

सरकारले मेडिकल कलेजहरुलाई अन्याय गरेको भन्दै देशभरका मेडिकल कलेज सञ्चालकहरु आन्दोलित भएका छन् । उनीहरुले आज प्रधानमन्त्रीलाई नौ वुँदे मागपत्र बुझाउँदै माग पुरा नभएसम्म एमवीवीएस र वीडीएसमा भर्ना नलिने अडान राखेका छन् ।

एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले माग पत्र बुझाउँदै माग पुरा गर्न सरकारलाई दवाव दिएको हो ।सरकारले मेडिकल कलेजहरुको योगदानलाई नजरअन्दाज गर्दै चौतर्फी रुपमा घेराबन्दीमा पार्दा कलेजहरु आर्थिक रुपमा धरासायी बन्ने भएकाले सरकारलाई ध्यानाकर्षण गराउँदै माग पत्र बुझाईएको एसोसिएसनका महासचिव डा.सुनिल शर्माले जानकारी दिए ।

नीजि लगानीमा सञ्चालित मेडिकल कलेजहरुको संलग्नताविना सिट संख्या घटाएको, अवैज्ञानिक तवरले शुल्क निर्धारण गरी कलेजहरुलाई आर्थिक रुपमा धरासायी बनाएको, विदेशी विद्यार्थीलाई आकर्षित गर्नुको सट्टा भर्ना प्रकृया जटिल बनाई त्रसित पारेको आरोप मेडिकल कलेज सञ्चालकहरुले लगाएका छन् ।

उनीहरुले पूर्व निर्धारण गरिएअनुसार विद्यार्थी सिट संख्या एमवीवीएसमा १ सय ५० र वीडीएसमा ७५ पुर्याउनुपर्ने, विदेशी विद्यार्थीलाई भर्ना सहजिकरण गर्नुपर्ने, शिक्षण शुल्क समायोजन गरी निर्धारण गर्नुपर्ने, शुल्क विवाद लगायत बिषयमा सार्वजनिक प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने लगायत माग अघि सारेका छन् ।]

माग सम्बोधन नगरी सामाजिक प्रतिफलसहितको व्यापार व्यवसाय गर्न पाउँने हक तथा सम्पत्ती माथिको संबैधानिक हक प्रतिकूल हुने गरी गरिने कुनैपनि काम कारबाही बिरुद्ध अन्य सशक्त कदम चाल्ने एसोसिएसनले चेतावनीसमेत दिएको छ ।

 

प्रकाशित मिति: : 2019-09-24 22:10:22

प्रतिकृया दिनुहोस्